स्वास्थ्य मन्त्रालयले प्रस्ताव गर्‍यो ३० हजार जनशक्ति
शिक्षाखबर डेस्क
२४ पुष २०८०, मंगलवार
no immg

काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा पठाउने गरी ३० हजार जनशक्तिको दरबन्दी प्रस्ताव गरेको छ।

गत वर्ष स्वास्थ्य मन्त्रालयले देशभरिका स्वास्थ्य संस्थामा आवश्यक दरबन्दीको अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट (ओएनएम) सर्वेक्षण गर्दा ९० हजार जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको थियो। त्यो प्रक्षेपणलाई पूरा गर्न चालु आर्थिक वर्षमा ३० हजार जनशक्ति पूरा गर्ने उद्देश्यले प्रस्ताव गरेको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले जनाएको छ।

ओएनएम सर्वेक्षणअनुसार ६० हजार जनशक्ति स्थानीय तहका अस्पतालका लागि, १५ हजार संघीय र १५ हजार प्रदेश अस्पतालको लागि प्रक्षेपण गरेको थियो।

मन्त्रालयका जनशक्ति सिफारिस समितिका संयोजक डा. विकास देवकोटाका अनुसार ९० हजार प्रक्षेपण गरिएको जनशक्ति पाँच वर्षभित्रमा पूर्ति गर्ने लक्ष्य लिएको छ। यो वर्षका लागि प्रस्ताव गरिएको जनशक्ति गरिएको जनशक्ति अहिले बनेको स्थानीय तहका आधारभुत अस्पताल, प्रदेश र संघीय अस्पताललाई लक्षित गरी गरिएको हो। मन्त्रालयको पक्षेण अनुसार अर्थ मन्त्रालयले जनशक्ति पूर्ति गर्न नसक्ने भनी परिपत्र जारी गरेको थियो।

तर, स्वास्थ्य जस्तो संवेदनशील ठाउँमा पूरै नसके पनि तह–तहमा पूर्ति गर्नुपर्ने देखिएकाले प्र्रस्ताव अघि बढाएको मन्त्रालयले जनाएको छ। ‘सिफारिस पठाएका छौं, अब सिफारिस समिति अर्थमन्त्रालसँग मिलेर काम अघि बढाउँछ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

प्रवक्ता बुढाथोकीका अनुसार विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार चलाउँदा नौ लाख २० हजार एक सय ६४ जनशक्ति आवश्यक पर्छ।

‘अहिलेको स्थितिलाई दृष्टिगत गर्दै मन्त्रालयले कम संख्याको दरले जनशक्ति माग गर्दै गएको छ,’ बुढाथोकीले भने।

एकमुष्ट रूपमा प्राप्त जनशक्ति मन्त्रालयले आवश्यकता अनुसार प्रदेश, स्थानीय र संघीय सरकारमा परिचालन गर्ने डा. विकास देवकोटाले बताए। देवकोटाका अनुसार यो वर्ष स्थानीय तहका आधारभूत अस्पतालहरू सबै संख्यामा निर्माण नभइसकेकोले त्यहीअनुसार जनशक्ति परिचालन गर्दै जाने मन्त्रालयको लक्ष्य छ।

प्रतिक्रिया