बाजुरा / बाजुराको बुढीगङ्गा नगरपालिका–१० का बदेडावासी रोपाइँका लागि आकासे पानी पर्खन बाध्य छन् । गाउँमा भएका पानीका मुहान सुक्दै गएपछि बदेडावासी रोपाइँ गर्न आकासे पानीकै भर पर्न बाध्य भएका हुन् ।
बुढीगङ्गा नगरपालिका–१० का स्थानीय जोगी सार्की भन्नुहुन्छ, “गाउँमा प्रशस्त जमिन छ तर सिँचाइ सुविधा छैन । सिँचाइ सुविधा नहुँदा हिउँद बर्खा आकासे पानीकै भरमा खेती गर्नु पर्छ ।”
हिउँदको खेतीमा पनि पानी परे सप्रिन्छ । पानी नपरे त्यो खेती सुकेर जान्छ । अहिले पनि पानी पर्खिएको धेरै दिन भयो । राम्रोसँग पानी परेको छैन । पानी परेदेखि रोपाइँ गरेर फेरि भारतमा जाने योजना सार्कीले रहेको छ । बदेडावासीको भतुडा रोल, माथिखेत, तोलेनलगायतका ठाउँमा करिब ५४ हजार ५४० वर्गमिटर जमिनमा रोपाइँ हुने गर्छ ।
केही दशकअघिसम्म पहिलासम्म यो जमिनको माथि ससाना पानीका मुहान थिए । बदेडावासी त्यही मुहानको सहाराले असारमा रोपाइँ गर्थे । अहिले ती मुहान पनि विस्तारै सुकेर गएपछि उनीहरूलाई आकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था आएको हो ।
२०७८ सालमा एक संस्थाले गाउँभन्दा पाँच किलोमिटर टाढा कार्तेखेकको पानी गाउँमा पु¥याएपछि अहिले खानेपानी भने केही सहज भएको सार्कीको भनाइ छ ।
यहाँको सात सय रोपनीभन्दा बढी खेतीयोग्य जमिन भए पनि सिँचाइको अभावमा बाँझो रहने गरेको छ । स्थानीयले सिँचाइका लागि धेरै पटक माग गरेको भए पनि कहीँ कतैबाट पूरा हुन सकेको छैन । बुढीगङ्गा नगरपालिका–१० का वडाध्यक्ष दलबहादुर साउद स्थानीय सरकारसँग ठुलो बजेट नभएकाले स्थानीयको चाहना अनुसार सिँचाइ सुविधा पु¥याउन नसकिएको बताउनुहुन्छ ।
बाजुरामा पाखो जमिनमा चैत र वैशाखमा धान छर्ने गरिन्छ भने असारको रोपाइँ भने जेठको पहिलो सातादेखि सुरु हुन्छ ।
बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य छ । त्यसमध्ये पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिँचाइ हुन्छ । त्यसमा छ हजार ९१५ हेक्टर जमिनमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम सहनीले बताउनुभयो ।






