नवलपुर / ‘नमस्कार, नयाँ युगको प्रविधिमा तपाईंलाई स्वागत छ !’ कावासोती अन्तर्गतको ढोकीको त्रिभुवन बालमाध्यमिक विद्यालयको परिसरमा प्रवेश गर्ने जोकोहीलाई यस्ता शब्दले स्वागत गर्ने गरिन्छ । स्वागत गर्ने विद्यालयकी शिक्षिका वा कर्मचारी नभएर, शिक्षक र विद्यार्थीले मिलेर बनाएको ‘राधा’ नाम गरेको रोबोट हुन् ।
गाउँकै सामुदायिक विद्यालयमा रोबोटले स्वागत गरेको दृश्य धेरैका लागि अनौठो लागिरहेको छ तर अहिले कावासोतीका विद्यालयमा यस्तै नयाँ अभ्यास सुरु भएको छ । विद्यार्थीले कतै रोबोट बनाइरहेका छन्, कतै बायोग्यास उत्पादन गरिरहेका छन् । यहाँका विद्यालयका विद्यार्थी कतै बेसार प्रशोधन तथा कतै क्यान्डी, तरकारी र फलफूल उत्पादनमा जुटेका भेटिन्छन् ।
गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रमले विद्यालय शिक्षालाई कक्षाकोठाबाट उत्पादन र प्रयोगसँग जोड्ने प्रयास गरेको छ । नगरपालिकाभित्रका २३ विद्यालयमा सञ्चालन भएका परियोजनाले विद्यालयलाई पढाइ हुने ठाउँ मात्र नभई सिकाइ, अनुसन्धान र उत्पादनको केन्द्र बनाउने प्रयास गरेको देखिन्छ ।
नगरपालिकाका स्रोत शिक्षक तीर्थराज कँडेलका अनुसार कावासोतीका विद्यालयले कृषि, वातावरण, प्रविधि, नवीकरणीय ऊर्जा तथा उद्यमशीलतासँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिरहेका छन् । विद्यालले कम्पोस्ट बिन निर्माण, सोलार ड्रायर निर्माण तथा ड्राइफ्रुट्स उत्पादन, फलफूल नर्सरी स्थापना, जैविक मल तथा नर्सरी निर्माण, मौसमी तथा बेमौसमी तरकारी उत्पादन, कालो हलेदो खेती तथा प्रशोधनलगायतका कार्यक्रम सञ्चालन भइरहेका नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत राजन पाण्डेले बताउनुभयो ।
परियोजना अन्तर्गत त्रिभुवन बालमाध्यमिक विद्यालयले रोबोटिक्स प्रविधिमार्फत सिकाइ र सिप विकास कार्यक्रम सञ्चालन गरेको छ । यस अन्तर्गत विद्यालयका शिक्षक र विद्यार्थी मिलेर ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् । कम बजेटमा बनाएको यो रोबोट निर्माण गर्ने परियोजनाले विद्यार्थीलाई रोबोटिक्स प्रविधिको आधारभूत ज्ञान मात्रै दिएको छैन, आगामी दिनमा यस्ता प्रविधिको क्षेत्रमा अगाडि बढ्ने प्रेरणासमेत दिएको विद्यालयका विज्ञान शिक्षक सुजन पोख्रेलले बताउनुभयो ।
नगरभित्रकै अर्को कालिका माध्यमिक विद्यालयले परियोजना अन्तर्गत इनोभेसन ल्याबको अवधारणा अगाडि सारेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर लामाले बताउनुभयो ।
स्थानीय स्रोतसाधनको उपयोग
कावासोती अन्तर्गतको पिठौली आधारभूत विद्यालयले बेसारको व्यवसायीकरणका लागि नवीकरणीय ऊर्जामा आधारित बेसार प्रशोधन एकाइ स्थापना गरेको छ । गोसाइँबाबा आधारभूत विद्यालयले अम्बा र बेसार खेती तथा प्रशोधन एकाइ सञ्चालन गर्ने योजना बनाएको छ । यसले विद्यालय र समुदायबिचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
कावासोतीकै दीपेन्द्र आधारभूत विद्यालय र वडा नं. १, रिठेपानीमा रहेको जनकल्याण माविले सोलार ड्रायर निर्माण गरेका छन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालयले विद्यालयको भान्साबाट निस्कने फोहोर प्रयोग गरेर बायोग्यास प्लान्ट निर्माण गरेको छ । छनोट भएका अधिकांश परियोजना कृषि तथा कृषिमा आधारित उद्यमसँग सम्बन्धित छन् । हरितगृह निर्माण, नर्सरी स्थापना, जैविक विषादी उत्पादन, गँड्यौला मल निर्माण, बेसार खेती तथा प्रशोधन जस्ता परियोजनाले स्थानीय कृषि उत्पादनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिकाले उत्कृष्ट काम गर्ने विद्यालय र शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था पनि गरेको छ । परियोजनाको मूल्याङ्कनपछि उत्कृष्ट तीन विद्यालयलाई जनही एक लाख रुपियाँका दरले पुरस्कार प्रदान गरिने पाण्डेले जानकारी दिनुभयो । उत्कृष्ट १० परियोजनाको नेतृत्व गर्ने शिक्षकलाई जनही १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने बताइएको छ । गोरखापत्र






