काठमाडौँ / दुई वर्षअघि सञ्चालन सुरु भएको नेपाल विश्वविद्यालयले पहिलो पटक यसै शैक्षिक सत्रदेखि स्नातक तहमा विभिन्न कार्यक्रममा पढाइ सञ्चालन गर्ने भएको छ । हाल मुलुकमा सञ्चालनमा रहेका विश्वविद्यालयभन्दा फरक धारको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले २०८१ सालमा सार्वजनिक विश्वविद्यालयका रूपमा यसको स्थापना भएको थियो ।
विश्वविद्यालयले गत वर्षदेखि स्कुल अफ पब्लिक पोलिसी अन्तर्गतको स्नातकोत्तर तहमा सार्वजनिक नीति (पब्लिक पोलिसी) विषयको पढाइ सञ्चालन गरिरहेको छ । यसै शैक्षिक सत्रदेखि स्नातकको पनि कार्यक्रम सञ्चालन गर्न लागिएको विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्नातक तहमा कम्प्युटर तथा तथ्याङ्क विज्ञान, भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान तथा पृथ्वीविज्ञान, अर्थशास्त्र तथा वित्त, साहित्य, आमसञ्चार तथा मिडिया अध्ययनलगायतका विषयको पढाइ सञ्चालन गर्न लागिएको हो ।
कक्षा १२ मा जुनसुकै विषयको अध्ययन गरेका विद्यार्थीका लागि पनि सहज भर्ना हुन सक्ने छन् । विश्वविद्यालयले यसलाई स्कुल अफ आर्ट्स, साइन्स तथा प्रविधि अन्तर्गत सञ्चालन गर्न लागेको हो । विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीले विद्यार्थीमा रचनात्मक, आलोचनात्मक चेतका साथै मुलुकका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको विकास गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गरिएको बताउनुभयो ।
विद्यार्थीमा सिकाइ क्षमताको विकास गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट शैक्षिक संस्थासँग सहकार्यका लागि सम्झौता गरिएको उपकुलपति कार्कीले जानकारी दिनुभयो । नेपाल विश्वविद्यालय ऐन, २०८१ अन्तर्गत सञ्चालित यो विश्वविद्यालय सार्वजनिक, स्वायत्त र गैरनाफामूलक प्राज्ञिक संस्थाका रूपमा स्थापित छ । विश्वविद्यालय सञ्चालनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वको संलग्नता रहेको छ । हाल मुलुकमा १५ वटा सङ्घीय विश्वविद्यालय र छ वटा प्रादेशिक विश्वविद्यालय सञ्चालनमा छन् ।






