पर्वत / फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६९ करोड ३ लाख १२ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ। मङ्गलबार सम्पन्न १८औँ नगरसभामा उपप्रमुख शोभाकुमारी क्षेत्रीले बजेट प्रस्तुत गर्नुभएको हो। कुल बजेटमध्ये चालुतर्फ ५४ करोड ८९ लाख २ हजार रुपियाँ (७९.५२ प्रतिशत) र पुँजीगततर्फ १४ करोड १४ लाख १० हजार रुपियाँ (२०.४८ प्रतिशत) विनियोजन गरिएको छ।
नगरपालिकाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। आर्थिक विकासतर्फ ३ करोड ५३ लाख रुपियाँ विनियोजन गरिएको छ। यसमध्ये कृषि क्षेत्रमा १ करोड ४५ लाख रुपियाँ, पशुपन्छी विकासमा ५७ लाख रुपियाँ, पर्यटन प्रवर्द्धनमा ५४ लाख रुपियाँ तथा उद्योग र रोजगारी कार्यक्रमका लागि १६–१६ लाख रुपियाँ छुट्याइएको छ।
सामाजिक विकास क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिँदै ४० करोड ७४ लाख रुपियाँ विनियोजन गरिएको छ। यसमध्ये शिक्षामा ३२ करोड २९ लाख रुपियाँ र स्वास्थ्य क्षेत्रमा ७ करोड २३ लाख रुपियाँ बजेट छुट्याइएको छ। विद्यालय दिवा खाजा, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, शैक्षिक गुणस्तर सुधार तथा स्वास्थ्य संस्थाको सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
पूर्वाधार विकासतर्फ १४ करोड १४ लाख १० हजार रुपियाँ विनियोजन गरिएको छ। सडक स्तरोन्नति, खानेपानी, सिँचाइ, वडा कार्यालय भवन निर्माण तथा कृषि पूर्वाधार विकासका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
नगरप्रमुख गंगाधर तिवारीले कृषि तथा पशुपालनलाई व्यवसायीकरण गर्दै दूध, मासु, फलफूल, तरकारी तथा खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिइएको बताउनुभयो। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र सुशासन प्रवर्द्धनलाई समेत बजेटले प्राथमिकता दिएको उहाँको भनाइ छ।
नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा “कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार : फलेवासीको समृद्धिको आधार” भन्ने मूल नारालाई अघि सारिएको छ। सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटल नागरिक वडापत्र, अनलाइन सेवा, सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइलाई संस्थागत गरिने नीति लिइएको छ।
पर्यटन विकासतर्फ मोदिबेणी, डहरे, चिसापानी, पुर्कोट र सातमुले बराह क्षेत्रलगायतका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरिने भएको छ। केबलकार, पदमार्ग, होमस्टे तथा एग्रो–टुरिजमको सम्भाव्यता अध्ययन गरी पर्यटन पूर्वाधार विस्तार गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ।






