विषादीरहित तरकारी उत्पादनतर्फ किसानको बढ्दो आकर्षण
शिक्षाखबर डेस्क
१० असार २०८३, बुधबार
no immg

दाङ / एक समय थियो, तरकारी खेती भन्नासाथ धेरै किसानको ध्यान रासायनिक मल र विषादीतर्फ जान्थ्यो । उत्पादन बढाउने नाममा प्रयोग गरिने यस्ता रसायनले माटोको उर्वराशक्ति कमजोर बनाउनुका साथै मानव स्वास्थ्यमा समेत असर पार्न थालेपछि अहिले भने किसानहरू विस्तारै विषादीरहित तथा जैविक खेतीतर्फ आकर्षित हुन थालेका छन् । दाङका विभिन्न गाउँका किसानले रासायनिक मल र विषादीको प्रयोग घटाउँदै प्राङ्गारिक मल, झोलमल तथा घरमै बनाइने जैविक विषादीको प्रयोगमार्फत सुरक्षित तरकारी उत्पादन गर्न थालेका छन् ।

जैविक विषादीको प्रयोग मार्फत तरकारी उत्दान गर्ने मध्ये एक हुनुहुन्छ, लमही नगरपालिका–७ बनघुस्रीकी निर्मला घर्ती मगर । उहाँ दुई वर्षअघिसम्म रासानिक मला, विषादी प्रयोग गर्नुहुन्थ्यो तर, अहिले उहाँ जैविक विषादी प्रयोग मार्फत झण्डै दुई विगाहा जमिनमा व्यावसायिक खेती गर्दै आउनुभएको छ । बोडी, घिरौला, करेला, टमाटर, काँक्रा र लौकाजस्ता तरकारी उत्पादन गर्दै आउनुभएको छ । “पहिला मैले रासायनिक मल र विषादी प्रयोग गर्थे, अहिले त्यसको सट्टा प्राङ्गारिक मल तथा जैविक विषादी प्रयोग गर्दै आएको छु ।” हेफर इन्टरनेसनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्रद्वारा सञ्चालित कृषि तथा पशु वस्तुको मूल्य शृङ्खलामा नवप्रवर्तन (आइएएलभिसी) परियोजना अन्तर्गतको कृषक समूहमा आबद्ध भएसँगै आफु विषादीरहित तरकारी उत्पादनतर्फ लागेको बताउनुभयो ।

यस्तै, राजपुर गाउँपालिका–५ की सरस्वती चौधरीले पनि गुम्बज प्रविधिसहित जैविक खेती अपनाएर व्यवसायिक तरकारी खेति गर्दै आएको बताउनुभयो । उहाँले करेला, लौका, भेन्डी, खरबुजा, बन्दा, काउली र काँक्रालगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ । गुम्बज प्रविधिका कारण कीराको प्रकोप कम हुने र रासायनिक विषादीको आवश्यकता घट्ने भएकाले अहिले उहाँ पूर्ण रूपमा जैविक विषादी र प्राङ्गारिक मल प्रयोगमा केन्द्रित हुनुहुन्छ । जैविक मलले माटोको उर्वराशक्ती बढाउने र तरकारी पनि राम्रो उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।

यस्तै गढवा गाउँपालिका–७ कान्छीगाउँकी रामकुमारी चौधरी भने तरकारी खेतीसँगै गड्यौला मल उत्पादनमा पनि सक्रिय हुनुहुन्छ । उहाँले उत्पादन गरेको भर्मिकम्पोष्ट मलको माग बढ्दो छ । “रासायनिक मलभन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ, उहाँले भन्नुभयो, “त्यसैले अहिले रासायनिक मल र विषादी प्रयोग गर्न छोडेकी छु ।”

ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले आफुहरुले सञ्चालन गरेको आइएएलभीसी परियोजनामार्फत किसानलाई कृषक व्यवसाय पाठशाला, आधुनिक कृषि प्रविधि, झोलमल, जैविक विषादी तथा गड्यौला मल उत्पादनमा सहयोग गर्दै आइएको बताउनुभयो । “रासायनिक मल विषादीको प्रयोगलाई घटाउँदै जैविक खेतितर्फ किसानहरुलाई प्रोत्साहन गर्दै आएका छौं, उहाँले भन्नुभयो, यसको लागी हामीले लमही र घोराही विभिन्न सहकारी संस्थासँग समन्वय गरेर महिला किसानहरूको जीवनस्तर उकास्न तथा उनीहरूलाई आयआर्जनसँग जोड्न सहयोग गर्दै आएका छौं ।” त्यस्तै किसानले उत्पादन गरेको तरकारीको बजारको सुनिश्चितता, आधुनिक प्रविधिको पहुँचमा सहयोग पुर्‍याएपछि किसानहरुपनि जैविक खेतीतर्फ उन्मुख हुँदै गएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया