डेंगु संक्रमण झन्डै आधाले घट्यो, तर बर्खासँगै जोखिम बढ्न सक्ने
शिक्षाखबर डेस्क
१३ असार २०८३, शनिबार
no immg

काठमाडाैं / नेपालमा यस वर्ष डेंगु संक्रमणको दरमा कमी आएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार २०२६ जनवरी १ देखि २५ जुनसम्म देशभर एक हजार ७२ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । गत वर्ष अर्थात् २०२५ जुन २३ सम्म यो संख्या दुई हजार पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झन्डै आधाले घटेको हो ।

यस वर्ष हालसम्म डेंगु संक्रमण देखिएका जिल्लाको संख्या ७१ पुगेको छ । संक्रमण घटे पनि हालसम्म यसबाट कसैको पनि मृत्यु नभएको महाशाखाले जनाएको छ ।

इडिसिडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार सरसफाइमा ध्यान दिएका कारण र डेंगुको लार्भा हुने स्थान सफा गरेकाले सुरुवाती महिनामा संक्रमण कम देखिएको हो । हालको तथ्यांकअनुसार हरेक महिना औसत सयदेखि १५० जनामा संक्रमण देखिने गरेको छ ।

तर, डेंगु फैलिने मुख्य सिजन अझै बाँकी रहेको डा. दाहालले बताए । ‘खासगरी अगस्टदेखि अक्टोबरसम्म संक्रमणदर तीव्र बढ्ने गरेको छ,’ उनले भने, ‘बर्खा लागेपछि ठाउँ–ठाउँमा पानी जम्ने र फोहोर फैलिने हुँदा अबका दिनमा थप सचेत हुनुपर्ने समय आएको छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक एवं सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले पनि बर्खाको समयमा लामखुट्टेले लार्भा विकास गर्ने वातावरण पाउने भएकाले प्रकोपको रूप लिन सक्ने समय अझै बाँकी रहेको बताए । गत वर्ष सरकारले ‘लार्भा खोज र नष्ट गर’ अभियान चलाएको थियो ।

डा. बास्तोलाका अनुसार एउटा लामखुट्टेले आफ्नो जीवनकालमा कम्तीमा तीन सयवटा अन्डा पार्छ । जाडो याममा समेत लामखुट्टे देखिनु जनस्वास्थ्यका लागि ठुलो चुनौती बनेको चिकित्सकको भनाइ छ ।

डा. दाहालका अनुसार लामखुट्टे धेरै भएको क्षेत्रमा संक्रमण धेरै फैलिने भएकाले लामखुट्टे र लार्भा नष्ट गर्नु सबैभन्दा प्रभावकारी मानिन्छ । पानीलाई जम्न नदिने, पानी जमेका भाँडाकुँडा, बोतल, टायर, गमला, खाल्डाखुल्डी आदिलाई पुर्ने तथा लामखुट्टे देखिने ठाउँमा कीटनाशक औषधि छर्किनुपर्छ । यसले संक्रमण कम हुन सक्छ ।

नेपालमा डेंगु भयावह भएका वर्ष
नेपालमा सन् २००४ देखि डेंगु संक्रमण देखिन थालेको सरकारी तथ्यांक छ । सुरुको वर्ष एकजनामा मात्र संक्रमण देखिएकामा त्यसपछिका वर्षमा बढ्दै गएको देखिन्छ ।

इडिसिडीका अनुसार हालसम्मको संक्रमणदर हेर्दा २०१९ मा १७ हजार ९९२, २०२२ मा ५४ हजार ७८४ जनामा संक्रमण देखिएको थियो । डेंगु संक्रमणकै कारण २०२२ मा ८८ जनाको मृत्यु भएको तथ्यांक छ । त्यस्तै २०२३ मा ५१ हजार २४३ संक्रमण र २० जनाको मृत्यु भयो । २०२४ मा ४१ हजार ८६५ संक्रमण र १५ जनाले ज्यान गुमाए । २०२५ मा ५३ हजार दुई सयमा संक्रमण देखिँदा आठजनाको मृत्यु भएको थियो ।

काठमाडौं महानगरले लार्भा नष्ट अभियान चलाउने
काठमाडौं महानगरपालिकाले बर्खायाममा डंगु संक्रमण नियन्त्रण गर्न ‘लार्भा खोज र नष्ट गर’ अभियान चलाउने भएको छ । महानगरको स्वास्थ्य विभागले यस अभियानका लागि एक हजार ६५० जना तालिमप्राप्त जनशक्ति परिचालन गर्ने तयारी छ ।

असारभित्रै पहिलो चरणअन्तर्गत महानगरका सबै वडामा यो अभियान सञ्चालन गरिने महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले बताए । उनका अनुसार यसका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम दिइँदै छ, जसले पछि प्रत्येक वडामा ५० जनाका दरले महिला स्वास्थ्य स्वयंसेविका, टोल सुधार समिति, स्थानीय क्लब र आमा समूहका प्रतिनिधिलाई प्रशिक्षित गर्नेछन् ।

तालिमप्राप्त टोलीले वडाका विभिन्न क्षेत्रमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्नेछ । त्यस्तै, एडिस जातको लामखुट्टेले सफा जमेको पानीमा अन्डा पार्ने हुनाले गमला, टायर, कौसी, खाल्टाखुल्टी र पानी राख्ने भाँडामा पानी जम्न नदिन महानगरले आग्रह गरेको छ ।

संक्रमणबाट कसरी बच्ने?
विशेषज्ञहरूका अनुसार लामखुट्टे र तिनका लार्भा नष्ट गर्नु नै डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो ।
– घरवरिपरि पानी जम्न नदिने ।
– पानी जम्ने भाँडाकुँडा, बोतल, टायर, गमला आदिको सफाइ गर्ने र खाल्डाखुल्डी पुर्ने ।
– लामखुट्टे बढी देखिने ठाउँहरूमा कीटनाशक औषधि छर्कने ।

प्रतिक्रिया