सैनिक विद्यालयमा एक हजार बिरुवा रोपियो
शिक्षाखबर डेस्क
१४ असार २०८३, आईतवार
no immg

बर्दीबास / बर्दीबासस्थित सैनिक आवासीय महाविद्यालय परिसरको बाँझो तथा वनस्पतिविहीन जग्गालाई हराभरा बनाउने उद्देश्यले आइतबार एक हजार पर्यावरणीय महत्त्वका बिरुवा रोपिएका छन्।

नेपाल सरकारको देशव्यापी ‘सगरमाथा वृक्षरोपण महाअभियान’ तथा महाविद्यालयको आन्तरिक ‘एक विद्यार्थी, दुई बिरुवा’ कार्यक्रमअन्तर्गत वृहत् वृक्षरोपण गरिएको हो।

आइतबार बिहानदेखि सुरु भएको कार्यक्रममा पर्यावरण र पारिस्थितिकीय प्रणालीलाई सुदृढ बनाउन विभिन्न प्रजातिका फलफूल तथा पर्यावरणीय महत्त्व बोकेका करिब एक हजार बिरुवा रोपिएको जनाइएको छ।

पृथ्वीलाई हरियालीको उपहार दिन तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ।

रोपिएका बिरुवामा समी, सिसौ, रुद्राक्ष, पारिजात, गुलमोहर, अशोक, जरकण्डा, धुपी तथा आँप, अमला, कटहर, बेल, एभोकाडोलगायतका फलफूलका प्रजाति रहेका छन्।

नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टरका पृतनापति एवं उपरथी भुवन खत्रीले यो अभियानले भावी पुस्ताका लागि स्वच्छ वातावरण र सुरक्षित भविष्य निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै महाविद्यालयको वनस्पतिविहीन परिसरलाई हराभरा बनाउन वृक्षरोपण गरिएको बताउनुभयो।

उहाँले नेपाली सेनाले राष्ट्र रक्षासँगै प्रकृति संरक्षणलाई पनि आफ्नो प्रमुख दायित्वका रूपमा लिँदै राष्ट्रिय निकुञ्जको सुरक्षादेखि यस्ता अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।

पृतनापति खत्रीले भन्नुभयो, “चुरे क्षेत्रको काखमा रहेको बर्दीबास तथा समग्र मधेश प्रदेशलाई मरुभूमीकरण हुनबाट जोगाउन र वातावरणीय सन्तुलन कायम राख्न तल्लो तटीय क्षेत्रमा हरियाली प्रवर्द्धन गर्नु आजको आवश्यकता हो।”

स्वागत मन्तव्यका क्रममा सैनिक आवासीय महाविद्यालयका प्रिन्सिपल पुष्पो राय क्षेत्रीले जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक स्रोतको ह्रास विश्वकै साझा चुनौती बनेको उल्लेख गर्दै जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वृक्षरोपण अपरिहार्य भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “आज रोपिएका यी बिरुवाले भविष्यमा हरियाली, स्वच्छ हावा र वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्। वृक्षरोपण केवल औपचारिक कार्यक्रम नभई सामाजिक र नैतिक दायित्व पनि हो।”

महाविद्यालयका प्रमुख व्यवस्थापक एवं प्रमुख सेनानी (कर्णेल) संगम अधिकारीले रोपिएका बिरुवाको उचित हेरचाह, संरक्षण र संवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बर्दीबास नगर प्रमुख प्रह्लाद क्षेत्री, परिकौलीस्थित गोरखनाथ गणका गणपति प्रमुख सेनानी रामप्रसाद लामिछाने, नेपाली सेनाका सकल दर्जाका सैनिक, महाविद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, सञ्चारकर्मी तथा अन्य अतिथिको सहभागितामा वृक्षरोपण गरिएको थियो। महाविद्यालय परिवारले वृक्षरोपण अभियानमा सहभागी सबैप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया