सर्लाही / सर्लाहीमा सोमबार धान दिवस र असार १५ मनाइएको छ । विद्यार्थी, किसान, राजनीतिज्ञ, कृषि अधिकारकर्मी लगायतले खुसी साटासाटसहित धान रोपाइँ गरेर धान दिवस मनाएको हो ।
हरिपुर नगरपालिका —२ मा गाउँले, विद्यार्थीलगायत मिलेर धान रोपाइँ गर्दै असार १५ मनाइएको सखुवा मौजा गाउँका स्थानीय ध्रुवप्रसाद प्रसाइँले जानकारी दिनुभयो ।
लालबन्दी, हरिवनलगायत स्थानमा कृषि विषयको पठनपाठन हुने क्याम्पस तथा विद्यालयका विद्यार्थीले प्रयोगात्मक अभ्यासहित धान दिवस मनाएका छन् । जनज्योति माध्यमिक विद्यालय लालबन्दी —९ की शिक्षिका नवीन चौलागाईं (सामना) ले एग्रिकल्चरका विद्यार्थीसहित असार १५ मनाइएको बताउनुभयो ।
कृषि यान्त्रिक परीक्षण तथा अनुसन्धान केन्द्र नवलपुरले पनि वर्सेनीझैँ असार १५ धान रोपाइँ गरेर मनाएको कार्यालय प्रमुख रामनाथ झाले बताउनुभयो । केन्द्रभित्र आधुनिक प्रविधिको प्रयोग गरी धान रोपाइँ गरिएको छ ।
जिल्लाको हरिवन नगरपालिका —८ मा पनि नेकपा (एमाले) र भातृ सङ्घ सङ्गठनको आयोजनामा असार १५ मनाइएको नेकपा (एमाले) का नेता राजकुमार उप्रेतीले जानकारी दिनुभयो । कार्यक्रममा पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेती लगायतको उपस्थिति थियो ।
यस्तै, सदरमुकाम मलङ्गवासहित जिल्लाका २० वटै पालिकामा सरकारी, गैरसरकारी तथा स्थनीय सङ्घ संस्थाको आयोजनामा असार १५ मनाइएको छ । कार्यक्रमहरुमा आँप, दही, चिउरा खाँदै खुसी साटासाट गरिएको स्थानीयले बताएका छन् ।
असार १५ गतेका दिन सोमबार दिनभर यहाँका बजार क्षेत्रका डेरी पसलमा दही किन्नेको भिड देखिन्थ्यो । आँपको व्यापारसमेत राम्रो भएको व्यापारीले बताएका छन् । औपचारिक कार्यक्रमको रुपमा धेरै ठाउँमा धान रोपाइँ भए पनि जिल्लामा किसानले भने भर्खर फाट्टफुट्ट मात्र खेतमा धान रोपाइँ गर्न थालेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख एवं वरिष्ठ कृषि प्रसार अधिकृत कमलदेवप्रसाद कुशवाहाले बताउनुभयो ।






