दैलेख / समाजमा बर्सौंदेखि जरा गाडेर बसेका छाउपडी प्रथा, बालविवाह र लैङ्गिक हिंसा जस्ता कुप्रथाविरुद्ध दैलेखका किशोरी सङ्गठित रूपमा जागरुक बन्न थालेका छन् ।
घरदेखि विद्यालयसम्म मात्र सीमित रहने किशोरी अहिले गाउँटोलमै पुगेर बालविवाह रोक्ने, छाउपडी अन्त्य गर्ने र लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउने अभियानमा सक्रिय भएका छन् । नारायण नगरपालिकाका विभिन्न वडाका किशोरीले समुदायमा देखिएका सामाजिक विकृतिविरुद्ध खुलेर आवाज उठाउन थालेपछि समदायमा लैङ्गिक हिंसा र छाउपडा प्रथाका विषयमा सकारात्मक परिवर्तनको सङ्केत देखिन थालेको छ ।
नारायण नगरपालिका–६ की सुमित्रा सार्कीले आफ्नो समुदायमा बालविवाह न्यूनीकरण हुनुको सट्टा झनै बढ्न थालेपछि त्यसलाई रोक्न अभियान सुरु गरेको बताउनुभयो । उहाँले विशेष गरी दलित समुदायमा कम उमेरमै विवाह गर्ने चलन अझै कायम रहेकाले त्यसविरुद्ध आफू र साथीहरू सक्रिय बनेको बताउनुभयो । “हामी आफैँ सचेत भएपछि समुदायका अन्य किशोरी र अभिभावकलाई पनि सम्झाउन थालेका छौँ । बालविवाहले किशोरीको शिक्षा, स्वास्थ्य र भविष्य नै जोखिममा पार्छ भन्ने कुरा अहिले धेरैले बुझ्न थालेका छन्,” उहाँले भन्नुभयो । सशक्त महिला समृद्ध नेपाल अभियानमार्फत आवाज संस्थाद्वारा सञ्चालित ‘सकारात्मक लैङ्गिक मापदण्डको प्रवर्धन, लैङ्गिक हिंसा रोकथाम र सेवामा पहुँच अभिवृद्धि’ परियोजना अन्तर्गत किशोरीलाई रूपान्तरण कक्षा दिएपछि उनीहरू सामाजिक अभियानमा जोडिएका हुन् ।
किशोरीको समूहले आफ्नो गाउँमा १६ वटा बालविवाह हुनबाट रोकेको र छाउगोठमा बस्ने महिलालाई सुरक्षित तरिकाले घरमा राखेको जनाइएको छ ।
नारायण नगरपालिकाका चार वडाका २५० किशोरी रूपान्तरण कक्षामा सहभागी भएका छन् । साथै विद्यालय उमेरमै पढाइ छाडेका किशोरीलाई पुनः आत्मनिर्भर बनाउन नगरपालिकाले ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रममार्फत प्रतिव्यक्ति ३० हजार रुपियाँका दरले आयआर्जनका कार्यक्रमसँग जोडेको छ ।






