लहान / लहान नगरपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षण–सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यले माध्यमिक तहका विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरेको छ।
नगरपालिका शिक्षा शाखाका प्रमुख अमिरी यादवका अनुसार ३७ वटा स्मार्ट बोर्ड, बालकक्षा व्यवस्थापनका लागि ३२२ थान बेन्च तथा ५९ वटा सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पहिलो पटक १८ हजार थान कापी र पेन्सिल वितरण गरिएको हो।
उहाँका अनुसार करिब एक करोड २७ लाख रुपियाँ बराबरको स्मार्ट बोर्ड, बेन्च, कापी तथा पेन्सिल वितरण गरिएको छ। साथै नमुना माध्यमिक विद्यालयका रूपमा छनोट भएका श्री लक्ष्मण–ललिता कुशवाहा माध्यमिक विद्यालय, लहान–३ रघुनाथपुर र श्री जनता माध्यमिक विद्यालय, लहान–११ पडरियामा ३२ थान सीसीटीभी क्यामेरा जडान गरिनेछ।
लहान नगरपालिकाका नगरप्रमुख तथा शिक्षा समितिका संयोजक महेशप्रसाद चौधरीले स्मार्ट बोर्डको प्रयोगबाट शिक्षकले श्रव्य–दृश्य सामग्रीमार्फत प्रभावकारी रूपमा पाठ प्रस्तुत गर्न सक्ने, डिजिटल शिक्षाको विस्तार हुने तथा शिक्षण विधिको आधुनिकीकरणसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले आर्थिक वर्ष २०८३/८४ मा एक करोड ७५ लाख रुपियाँ बजेट विनियोजन गरी ५९ वटै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड तथा सीसीटीभी क्यामेरा जडान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरप्रमुख चौधरीले भन्नुभयो, “लहान नगरपालिकाले प्रत्येक वर्षको बजेटमा शिक्षालाई पहिलो प्राथमिकता दिएको छ। ‘एक कक्षा–एक शिक्षक’, ‘एक विद्यालय–एक कम्प्युटर प्रयोगशाला’ कार्यक्रम सञ्चालन गर्नुका साथै ५९ वटै सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारको काम पनि भइरहेको छ।”
लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद भुर्तेलले नगरपालिकाका चार वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरी न्यून शुल्कमा गुणस्तरीय शिक्षा विस्तार गर्ने उद्देश्यका साथ परीक्षण कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।
स्मार्ट बोर्ड, बालकक्षाका लागि बेन्च तथा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि कापी र पेन्सिल ग्रहण गर्दै श्री जनता माध्यमिक विद्यालय, गोबन्दपुर–झिरहरी, लहान–१७का प्रधानाध्यापक नारायण साहले सामुदायिक विद्यालय सुधार कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार र शैक्षिक सुधारका काम सन्तुलित रूपमा अघि बढिरहेकोमा खुसी व्यक्त गर्नुभयो।
यद्यपि, श्री पशुपति आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सुभाषचन्द्र निरौलाले नगरपालिकाको सहरी क्षेत्रमा रहेको आफ्नो विद्यालयलाई स्मार्ट बोर्ड र बालकक्षाका लागि बेन्च वितरण नगरिएकाले विद्यालय निरुत्साहित भएको गुनासो गर्नुभयो।






