शिक्षा प्रणाली सुधारका लागि शैक्षिक बहस
शिक्षाखबर डेस्क
२१ असार २०८३, आईतवार
no immg

सिँजा (जुम्ला) / सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले हिमा गाउँपालिकाले माध्यमिक तहका विद्यालयहरूमा शैक्षिक बहस कार्यक्रम गरेको छ । विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरकारबीच प्रत्यक्ष संवाद गरी विद्यालयमा देखिएका समस्या पहिचान गर्दै समाधानका उपाय खोज्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

गाउँपालिकाभित्र रहेका ६ वटा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रममा वडा १ को कालिका माध्यमिक विद्यालय बड्कि, वडा २ को नेत्रज्योति माध्यमिक विद्यालय ओदि, वडा ३ को राहदेव माध्यमिक विद्यालय मोफ्ला, वडा ५ को कालिका माध्यमिक विद्यालय तलिकुडु, वडा ६ को भानु माध्यमिक विद्यालय पाथरखोला तथा वडा ७ को अन्नपूर्ण माध्यमिक विद्यालय मष्टमाडुमा कार्यक्रम गरिएको हो ।

बहस कार्यक्रमका उठेका प्रश्नलाई सम्बोधन गर्दै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले शैक्षिक बहसले सामुदायिक विद्यालयको वास्तविक अवस्था बुझ्न र सुधारका योजना बनाउन महत्वपूर्ण सहयोग पुगेको बताउनु भयो । उहाँले विद्यार्थी, शिक्षक र अभिभावकले स्थानीय सरकारसँग प्रत्यक्ष रूपमा आफ्ना समस्या, जिज्ञासा र सुझाव राख्ने अवसर पाएको उल्लेख गर्नुभयो ।

अध्यक्ष शाहीले विद्यालयमा खानेपानी, शौचालय, घेरबार, खेलमैदान तथा भवन निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिँदै आवश्यक पूर्वाधार विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भयो । साथै माध्यमिक तहमा अध्ययनरत किशोरीहरूका लागि पर्याप्त मात्रामा सेनिटरी प्याड उपलब्ध गराउने व्यवस्था मिलाइने र विद्यालयमा देखिएका आधारभूत समस्याको समाधानका लागि सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले विद्यार्थीको प्रतिभा पहिचान र सिर्जनशीलता विकासका लागि गाउँपालिकाले नियमित रूपमा पढाइ मेला आयोजना गर्दै आएको बताउनु भयो । यस्ता कार्यक्रमले सिकाइ उपलब्धि बढाउन सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जालन्धर भुसालले शैक्षिक बहसले विद्यार्थीलाई आफ्ना समस्या र जिज्ञासा खुला रूपमा राख्ने वातावरण सिर्जना गरेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि स्थानीय सरकार, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको जानकारी गराउनुभयो ।

त्यसैगरी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बमबहादुर शाहले शिक्षकहरूलाई पाठ्योजना अनुसार नियमित र प्रभावकारी पठनपाठन सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले शिक्षण–सिकाइ प्रक्रियालाई विद्यार्थी केन्द्रित बनाउन, शैक्षिक सामग्रीको प्रभावकारी प्रयोग गर्न तथा सिकाइ उपलब्धि वृद्धि गर्न शिक्षकहरू अझ जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

गाउँपालिकाले शिक्षामा गरेको लगानी र त्यसको प्रभावबारे पनि कार्यक्रममा विस्तृत छलफल भएको छ । शैक्षिक बहस कार्यक्रमसँगै गाउँपालिकाले विषयगत शिक्षकहरूको क्षमता विकास तथा उत्प्रेरणा अभिवृद्धि कार्यक्रम समेत सञ्चालन गरेको छ ।

साथै माध्यमिक तहका विद्यार्थीहरूलाई लागु औषध दुव्र्यसनबाट बच्न सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ । हिमा गाउँपालिकाको सहयोग तथा रेडियो कर्णाली जुम्लाको सहजीकरणमा सम्पन्न शैक्षिक बहस कार्यक्रममा विद्यालयको भौतिक तथा शैक्षिक अवस्था, स्थानीय सरकारको शैक्षिक लगानी, पढाइ मेलाको प्रभावकारिता, सिकाइ उपलब्धि, शिक्षण–सिकाइ क्रियाकलाप, शैक्षिक सामग्रीको प्रयोग, दरबन्दी मिलान, अनुगमनको प्रभावकारितालगायतका विषयमा विस्तृत छलफल गरिएको छ ।

स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्यलाई थप मजबुत बनाउँदै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने दिशामा हिमा गाउँपालिकाले थालेको पहललाई सहभागीहरूले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया