निर्माण सम्पन्न अस्पताल र वडा कार्यालय सञ्चालन गर्न स्थानीयको माग
शिक्षाखबर डेस्क
२३ असार २०८३, मंगलवार
no immg

लहान / सिरहाको भगवानपुर गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको अस्पताल (बर्थिङ सेन्टर) र वडा कार्यालय भवन सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन्।

एक बिघा सार्वजनिक पोखरी रहेको स्थानमा २०४९/५० सालतिर माटो भरेर बस बिसौनी निर्माण गर्ने योजना बनाइएको स्थानीय जगदीश यादवले बताउनुभयो। उहाँका अनुसार करिब पाँच वर्षअघि भगवानपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष बेचन यादवको कार्यकालमा सङ्घीय सरकारको तीन करोड ५० लाख रुपियाँ बजेटअन्तर्गत ६० प्रतिशत सङ्घीय सरकार र ४० प्रतिशत स्थानीय सरकारको लगानीमा बर्थिङ सेन्टर (अस्पताल) र वडा नम्बर ४ को कार्यालय भवन निर्माण सुरु गरिएको थियो।

निर्माण सम्पन्न भइसकेको उक्त भवन २०७९ सालको स्थानीय तह निर्वाचनपछि पनि सञ्चालनमा आउन सकेको छैन। स्थानीयका अनुसार नवनिर्मित भवन प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ। भवनका कोठामा फोहोर थुप्रिएको, वर्षाको समयमा पानी जम्ने तथा सरसफाइको अभाव देखिएको स्थानीयले बताएका छन्।

स्थानीय अवकाशप्राप्त शिक्षक डोमी पासवानले गाउँपालिका अध्यक्ष परिवर्तन हुँदैमा विकासका काम रोकिनु दुःखद भएको बताउनुभयो। उहाँले भन्नुभयो, “भवन तयार छ तर सेवा सञ्चालन हुन सकेको छैन। यसले स्थानीयलाई समस्या भएको छ।”

भगवानपुर गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार यादवले वडा कार्यालय र अस्पताल सञ्चालनका लागि गाउँपालिका अध्यक्षसँग पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको आरोप लगाउनुभयो। उहाँले आफू फरक दलबाट निर्वाचित भएकाले बेवास्ता गरिएको दाबी गर्नुभयो।

“अस्पताल र वडा कार्यालयका लागि व्यवस्थित भवन हुँदाहुँदै ठाडी बजारमा कोठा भाडामा लिएर सेवा सञ्चालन गर्नुपरेको छ। झ्याल, ढोका र रङरोगनलगायतका सामान्य काम बाँकी रहे पनि भवन सञ्चालनमा ल्याउने पहल भएको छैन,” उहाँले भन्नुभयो।

गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले भने निर्माण कार्यमा प्राविधिक समस्या देखिएकाले भवन सञ्चालनमा ढिलाइ भएको बताउनुभयो।

उहाँका अनुसार आफू निर्वाचित भएर आएपछि निर्माण ठेकेदार रोशन यादवले स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विपरीत र्‍याफ्ट फाउन्डेसन निर्माण गरेको पाइएपछि भुक्तानी रोकिएको हो। बाँकी काम अघि बढ्न नसक्दा समस्या भएको उहाँको भनाइ छ।

“भगवानपुर गाउँपालिकाको प्रशासनिक भवन र पर्यटकीय स्थल बालासुन्दरी मन्दिर निर्माणमा पनि डीपीआर विपरीत काम भएको विषय उठेको छ। सङ्घीय सरकारको करिब २० करोड रुपियाँ बजेटका आयोजनामा देखिएका समस्या समाधानका लागि पहल भइरहेको छ,” अध्यक्ष यादवले भन्नुभयो।

पूर्व गाउँपालिका अध्यक्ष बेचन यादव र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिलीप यादवले डीपीआर विपरीत भएको भनिएको कामलाई निरन्तरता दिँदै भुक्तानी गरेको आरोप लगाउँदै आफूले त्यसलाई निरन्तरता दिन नचाहेको अध्यक्ष यादवले बताउनुभयो।

प्रतिक्रिया