नेपालगन्ज / पश्चिम नेपालको प्रमुख केन्द्र मानिने बाँकेको नेपालगन्जमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले छोटो अवधिमै शैक्षिक कार्यक्रम, विद्यार्थी सङ्ख्या र संस्थागत संरचना विस्तारमा उल्लेख्य प्रगति गरेको छ।
विश्वविद्यालयले हालै चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। विश्वविद्यालयका रजिस्ट्रार रेगबहादुर भण्डारीले देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको विश्वविद्यालयमा हाल चार सय विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो। उहाँले चालु शैक्षिक वर्षदेखि नौ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
रजिस्ट्रार भण्डारीले विश्वविद्यालय अझै संस्थागत विकासको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै आगामी दिनमा वन, कृषि तथा पर्यटनजस्ता नेपालको आर्थिक रूपान्तरणसँग जोडिएका क्षेत्रमा पनि शैक्षिक कार्यक्रम विस्तार गर्ने योजना रहेको बताउनुभयो।
उहाँका अनुसार विश्वविद्यालय विसं २०७९ असार १८ गते प्रदेश राजपत्रमा विधान प्रकाशित भएपछि विधिवत् रूपमा स्थापना भएको हो। स्थापना भएको पहिलो वर्ष कानुनी तथा संस्थागत आधार तयार गर्नमै बढी समय खर्च भएको थियो।
“पहिलो वर्ष विनियम, विधान, नियम र निर्देशिका निर्माणमा बढी समय खर्च भयो। त्यसपछि मात्रै शैक्षिक कार्यक्रम सञ्चालनतर्फ अघि बढ्न सकियो,” उहाँले भन्नुभयो, “पछिल्ला तीन वर्षमा विद्यार्थीको आकर्षण उल्लेख्य रूपमा बढेको पाएका छौँ।”
विश्वविद्यालयले शैक्षिक गतिविधि विसं २०८० मङ्सिर १३ गतेदेखि सुरु गरेको थियो। त्यसबेला ‘बिटेक इन आइटी’ र ‘बिटेक इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ कार्यक्रममा ४० जना विद्यार्थी भर्ना भएका थिए।
४० जना विद्यार्थीबाट सुरु भएको विश्वविद्यालयमा अहिले ४०० विद्यार्थी अध्ययनरत हुनु छोटो अवधिको महत्त्वपूर्ण उपलब्धि भएको रजिस्ट्रार भण्डारीले बताउनुभयो।
उहाँका अनुसार विश्वविद्यालयले हाल स्नातक तहमा चार वटा र स्नातकोत्तर तहमा दुई वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। आगामी शैक्षिक सत्रदेखि थप कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
विश्वविद्यालयले स्नातकोत्तर तहमा ‘एमटेक इन कन्स्ट्रक्सन म्यानेजमेन्ट इन्जिनियरिङ’, ‘अर्बन पोलिसी एन्ड कन्स्ट्रक्सन म्यानेजमेन्ट इन्जिनियरिङ’, ‘अर्बन पोलिसी’ तथा स्नातक तहमा बिटेक इन जियोमेटिक्स’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
आगामी दिनमा विश्वविद्यालयले प्राविधिक शिक्षासँगै मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ।
विश्वविद्यालयको स्थायी पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन प्रक्रिया अन्तिम चरणमा पुगेको र त्यसमा लुम्बिनी प्रदेश सरकारको निर्णय महत्त्वपूर्ण हुने रजिस्ट्रार भण्डारीले बताउनुभयो।






