बालविवाहविरुद्ध विद्यार्थी
शिक्षाखबर डेस्क
२३ असार २०८३, मंगलवार
no immg

हुम्ला / हुम्ला जिल्लामा बालविवाहको दर अप्रत्याशित रूपमा बढेको तथ्य बाहिर आएपछि स्थानीय किशोरकिशोरीले विद्यालयमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।

स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने २० वर्षमुनिका महिलाको सङ्ख्या गत वर्षको भन्दा दोब्बरले वृद्धि भएपछि बालविवाह र छाउपडी प्रथा न्यूनीकरण गर्न विद्यालयमा जनचेतनामूलक कार्यक्रम गर्न लागिएको हो ।

जिल्लामा अझै बालविवाहका घटनामा वृद्धि भएको तथ्य सार्वजनिक भएपछि आफूहरूले चालु आर्थिक वर्षको बजेटमा अनावश्यक खर्च कटाएर बालविवाहविरुद्धका सचेतना कक्षा सञ्चालन गरिएको सामाजिक विकास कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहले बताउनुभयो ।

जिल्लाको सदरमुकाम भएको सिमकोट गाउँपालिकामै बालविवाहका घटना धेरै देखिएपछि सामाजिक विकास कार्यालयसँगको सहकार्यमा कक्षा ९ का विद्यार्थी भाइबहिनीलाई बालविवाह र छाउपडी प्रथासम्बन्धी सचेतीकरण कार्यक्रमको अभियान गरिएको बालमन्दिर माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहोराले बताउनुभयो ।

विद्यालयमा विभिन्न सङ्घ संस्थाले सचेतनामूलक कार्यक्रम ल्याएर आएपछि सरकारी कार्यालयले नै अभियानका रूपमा विद्यार्थी माझ कार्यक्रम सञ्चालन गरेको पहिलो पटक भएको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले जानकारी दिनुभयो । “वास्तवमा बालविवाह न्यूनीकरणका सबैभन्दा भरपर्दो माध्यम भनेकै किशोरकिशोरी हुन्,” उहाँले थप्नुभयो, “तिनैलाई नै यसका फाइदा र बेफाइदाका बारेमा सचेतीकरण गराउने होभने जिल्लामा अहिले बढ्दै गएको बालविवाहको दर घट्ने छ ।”

बालविवाह र छाउपडी प्रथा न्यायीकरणका लागि सामाजिक विकास कार्यालयले गरेको विद्यालय सचेतना कार्यक्रमप्रति जिल्लाका शिक्षकशिक्षिका र विद्यार्थी पनि उत्साहित भएका छन् । कक्षाकोठामा पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित आफूहरूलाई यो कार्यक्रमले फरक माध्यमबाट फरक विषयका बारेमा जानकारी दिने काम गरेकाले आफूलाई राम्रो लागेको बालमन्दिर माध्यमिक विद्यालय कक्षा ९ का छात्रा स्मृति रावतले बताउनुभयो ।

प्रतिक्रिया