मधेशका विद्यालयमा भर्ना हुँदैनन् ‘प्लस टु’ का विद्यार्थी
शिक्षाखबर डेस्क
२५ असार २०८३, बिहीबार
no immg

जनकपुरधाम / तराई मधेशका विद्यार्थी अध्ययनका लागि सहर बजार रोज्न थालेपछि स्थानीय स्कुल सुनसान हुन थालेका छन् । १० कक्षासम्म केही विद्यार्थी टिके पनि एसइई दिएर प्लस टुका लागि सहर बजारको स्कुल रोज्न थालेका छन् । त्यसले गर्दा स्थानीय स्कुलमा प्लस टुमा विद्यार्थी निकै अभाव हुन थालेका छन् ।

मधेशका आठ वटै जिल्लाका अवस्था त्यस्तै छन् । एक तथ्याङ्क अनुसार विद्यार्थी भर्नादर ९६ प्रतिशतभन्दा बढी छ तर प्लस टुसम्म पुग्दा आधाभन्दा कम विद्यार्थी मात्र स्कुलमा बाँकी रहन्छन् ।

निजीतर्फ आकर्षण

महोत्तरी समाचारदाताका अनुसार महोत्तरी जिल्लामा उच्च माध्यमिक (कक्षा ११ र १२) तहमा सामुदायिक विद्यालयभन्दा निजीतर्फ विद्यार्थीको आकर्षण बढी देखिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीले दिएको तथ्याङ्क अनुसार कक्षा ११ र १२ मा सामुदायिक विद्यालयभन्दा निजी विद्यालयमा ३६ प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका प्रमुख निर्मलकुमार घिमिरेले २०८१ र २०८२ को तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमा ४.५१ प्रतिशतले विद्यार्थी घट्दा निजी विद्यालयमा ३६.२२ प्रतिशतले वृद्धि भएको देखिएको बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइले २०८१ सालमा जिल्लाका उच्च माध्यमिक तहमा (कक्षा ११ र १२) नौ हजार ४०७ विद्यार्थी अध्ययनरत रहेकामा २०८२ मा आइपुग्दा यो सङ्ख्या नौ हजार २४६ मा झरेको जनाएको छ ।

सामुदायिक विद्यालयमा ३९५ विद्यार्थी घटेका छन् । २०८१ मा आठ हजार ७६१ विद्यार्थी रहेकोमा २०८२ मा आठ हजार ३६६ मा विद्यार्थी सीमित भएको तथ्याङ्क छ । निजी विद्यालयमा भने विद्यार्थी सङ्ख्या ६४६ बाट बढेर ८८० पुगेको छ । महोत्तरी जिल्लामा उच्च माध्यमिक शिक्षाका लागि ७७ विद्यालय छन् जसमा सामुदायिकतर्फ ६२ तथा निजीतर्फ १५ विद्यालय रहेको छ ।

जिल्लाको एकडारा गाउँपालिकामा रहेको श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जिवछ ठाकुरले उच्च शिक्षातर्फ शिक्षा (एजुकेसन) विषयका विद्यार्थी विस्तारै घट्दै गएको बताउनुहुँदै उनीहरू विज्ञान, लेखा तथा सिपमूलक शिक्षाका लागि जिल्लाबाहिर जाने प्रवृत्ति देखिएको बताउनुभयो । सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न नसकेका कारणले मात्रै नभई पठनपाठनको गुणस्तर, वातावरण, व्यवहार, विषयगत शिक्षकको उपलब्धतालगायतका कुरा सुधार गर्न नसक्दा विद्यार्थी टिकाउन नसकेको वताउनुहुँदै यसप्रति सरोकारवाला निकायलाई गम्भिर हुनुपर्नेमा प्रधानाध्यापक ठाकुरले जोड दिनुभयो ।

जिल्लामा साधारणतर्फ मात्रै नभई कक्षा ११ र १२ तहको प्राविधिक शिक्षामा समेत विद्यार्थीको आकर्षण कम देखिएको छ । तथ्याङ्क अनुसार २०८१ मा जिल्लाका विभिन्न विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत प्राविधिक विद्यार्थी सङ्ख्या ६०९ रहेको थियो तर २०८२ मा यो सङ्ख्या घटेर ३७६ मा पुगेको छ ।

विद्यार्थीमा काठमाडौँ मोह

ढल्केबर समाचारदाताका अनुसार धनुषालगायत मधेश प्रदेशका जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थी थप अध्ययनका लागि काठमाडौँलगायत ठुला सहरतर्फ आकर्षित हुन थालेपछि स्थानीय विद्यालयमा कक्षा ११ मा भर्ना हुनेको सङ्ख्या घट्न थालेको छ ।

धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरमा रहेको महेन्द्र माध्यमिक विद्यालयबाट २०८२ को एसइईमा सहभागी सबै १०८ विद्यार्थी उत्तीर्ण भएका थिए तर सोही विद्यालयको कक्षा ११ मा उत्तीर्ण विद्यार्थीमध्ये अहिलेसम्म करिब २५ जना मात्र भर्ना भएका छन् । अधिकांश विद्यार्थी अध्ययनका लागि अन्य विद्यालय तथा काठमाडौँ केन्द्रित शैक्षिक संस्थामा गएको हुन सक्ने विद्यालय प्रशासनको भनाइ छ ।

यस्तै सोही ठाउँको चिल्ड्रेन गार्डेन माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण भएका ४२ विद्यार्थीमध्ये थोरै विद्यार्थी कक्षा ११ मा भर्ना भएका छन् । पछिल्ला केही वर्षयता स्थानीयस्तरमा सञ्चालित विद्यालयमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको सङ्ख्या घट्दो व्रmममा छ । शिक्षाविद् डा. राजेन्द्र ठाकुरले पछिल्ला वर्षमा एसइई उत्तीर्ण विद्यार्थी तथा अभिभावकमा काठमाडौँका विद्यालयप्रति आकर्षण बढेको बताउनुभयो । यही कारण स्थानीयस्तरमा सञ्चालनमा रहेका कक्षा ११ र १२ मा अपेक्षाकृत कम विद्यार्थी भर्ना हुने गरेको उहाँको भनाइ छ ।

स्थानीय विद्यालयप्रति विद्यार्थी र अभिभावकको विश्वास बढाउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने सुझाव ठाकुरको छ । प्याब्सनका केन्द्रीय प्राज्ञिक परिषद् सदस्य नरेन्द्र शर्माले एसइईपछि काठमाडौँ गएर पढ्ने प्रवृत्तिले मधेशका विद्यालय प्रभावित भएको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ धनुषाको तथ्याङ्क अनुसार जिल्लामा कक्षा १० सम्म अध्यापन हुने २०३ विद्यालय रहेका छन् । त्यसमध्ये सामुदायिक र संस्थागत गरी ८४ विद्यालयमा कक्षा ११ र १२ को पढाइ हुँदै आएको छ तर अधिकांश विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून रहेको तथ्याङ्कले देखाएको छ ।

शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशका शिक्षा महाशाखा प्रमुख उज्ज्वल पोखरेलले एसइई उत्तीर्ण विद्यार्थीले आफ्नो ठाउँभन्दा बाहिर गएर अध्ययन गर्न चाहनु स्वाभाविक प्रव्रिmया भएको बताउनुभयो । मधेश प्रदेशबाट एसइई उत्तीर्ण गरेका विद्यार्थी काठमाडौँ वा अन्यत्र गएर पढ्न चाहनु अस्वाभाविक होइन तर गुणस्तरीय शिक्षाको सवालमा प्रदेशभित्रकै शैक्षिक संस्थालाई अझ सक्षम र प्रतिस्पर्धी बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले प्रदेशभित्र गुणस्तरीय शैक्षिक संस्था हुँदाहुँदै विद्यार्थी बाहिरिनु चिन्ताको विषय भएको बताउँदै शिक्षा नीतिको समीक्षा गर्नुपर्ने जानकारी दिनुभयो ।

गाउँघरका उच्च मावि सङ्कटमा

सप्तरी समाचारदाताका अनुसार सप्तरीका ग्रामीण भेगमा खुलेका उच्च माध्यमिक विद्यालयमा न्युन विद्यार्थी भर्ना हुने गरेका कारण ती विद्यालय सङ्कटमा पर्न थालेका छन् । एसइई परीक्षा उत्तीर्ण भएपछि विद्यार्थी अध्ययनका लागि ग्रामीण क्षेत्रभन्दा पनि सहरबजारमा नै जाने गरेका कारण सप्तरीका ग्रामीण भेगमा खुलेका उच्च माविमा सङ्कट आएको हो ।

विद्यार्थी सप्तरीको राजविराज, मोरङको विराटनगर, सुनसरीको धरान तथा राजधानी काठमाडाँै जस्ता सहर जान थालेका छन् । यी ठाउँहरूमा अध्यनका लागि पठाउँदा विद्यार्थीको नाम उच्च भइन्छ भन्ने भावनाका कारण पनि ग्रामीण भेगमा रहेका उच्च माविमा विद्यार्थीको सङ्ख्या घट्दो व्रmममा देखिएको हो ।

शिक्षा विकास एकाइ कार्यालय सप्तरीका प्रमुख वीरेन्द्रकुमार यादवका अनुसार सप्तरीमा दर्जनौँ सामुदायिक उच्च माध्यमिक विद्यालय छन् भने एक दर्जनभन्दा बढी संस्थागत उच्चमावि सञ्चालित छन् । तीमध्ये केहीमा विद्यार्थी सङ्ख्या राम्रो देखिए पनि अधिकांश विद्यालयमा विद्यार्थीको अभाव दखिएको हो । कमजोर आर्थिक अवस्था भएका, पूरक तथा एक्जाम्टेडबाट उत्तीर्ण भएका, दलित र विवाहित छात्राहरू मात्र गाउँमा खुलेको उच्च माविमा भर्ना हुने गरेको नरबहादुर थापा जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नागेन्द्र सिंहले बताउनुभयो ।

विषयगत शिक्षक अभाव

चन्द्रपुर समाचारदाताका अनुसार रौतहटका ६० वटा सामुदायिक विद्यालयमा प्लस टुको पढाइ हुने गरे पनि विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । जिल्लाका प्रायः विद्यालयमा प्लस टु पढ्ने विद्यार्थीको सङ्ख्या दिनानुदिन घट्दै गएका छन् । गुणस्तर शिक्षा पूर्वाधारको कमी र सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप हुनुलगायतका कारणले समेत सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने व्रmम बढेको शिक्षा विकास तथा समन्वय एकाइ रौतहटका एकाइ प्रमुख नन्दकिशोर गुप्ताले बताउनुभयो ।

विद्यार्थीको अभावमा प्लस टु अध्यापन हुने विद्यालय एकअर्कामा समायोजन भई घट्ने अवस्था हुनुपर्नेमा बर्सेनि प्लस टु पढाइ हुने विद्यालयको सङ्ख्या बढ्दै गइरहेका छन् । यस्ता विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै जाँदा पनि सुधारको प्रयासका लागि कतैबाट कुनै पहल नहुनु दुःखद रहेको अभिभावकको गुनासो छ ।

सामुदायिक विद्यालयमा गुणस्तरीय अध्यापन नहुनु र गाउँमा समानुपातिक विकास नहुनु नै सामुदायिक विद्यालयमा प्लस टु पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै जाने गरेको मुख्य कारण रहेको गौर–२ का विजय किशोर झाले भन्नुभयो । माध्यमिक तहसम्म निःशुल्क शिक्षा भए पनि विभिन्न ठाउँमा विभिन्न शुल्क उठाउन थालेपछि विद्यार्थी सहरका निजी विद्यालय रोज्न थालेको चन्द्रपुर–५ का पूजा झाले बताउनुभयो । रौतहटमा छ वटा निजी विद्यालयमा समेत प्लस टुको अध्यापन हुँदै आएको छ । दुर्गा भगवती –२ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्लस टुमा विद्यार्थीको आकर्षण बढाउन पूर्वाधार तथा अनुभवी शिक्षकको व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष शम्भु सिंह बताउनुहुन्छ । भर्खर सम्पन्न कक्षा १२ को परीक्षामा रौतहटका विद्यालयबाट कुल सात हजार ८९४ विद्यार्थी सहभागी रहेका थिए ।

राम्रो ग्रेड ल्याउने विद्यार्थी टिक्दैनन् विद्यालयमा

लहान समाचारदाताका अनुसार सिराहामा कक्षा ११ र १२ सञ्चालन गर्ने माध्यमिक विद्यालयको सङ्ख्या एक सय पुगेको छ । विद्यालय सङ्ख्या एक सय पुगे पनि एसइईमा ‘ए’ प्लस ग्रेड ल्याउने विद्यार्थी भने ती विद्यालयमा भर्ना नभई अन्यत्र गएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय लहानले जनाए अनुसार कक्षा ११ र १२ सञ्चालन भइरहेको विद्यालयको सङ्ख्या सिराहामा एक सय पुगे पनि विद्यालय अनुसार विद्यार्थीको भर्ना न्यून रहेको छ । सो कार्यालयका सूचना अधिकारी किशोर निरौलाले, राष्ट्रिय परीक्षा बोर्डले पाँच वटा जिल्ला सिराहा, सप्तरी, उदयपुर, ओखलढुङ्गा र खोटाङमा ३५० माध्यमिक विद्यालयको परीक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले सामुदायिक विद्यालयले एसइईमा उच्च ग्रेड ल्याउने विद्यार्थीलाई आफ्नै जिल्लामा टिकाउन नसकेको बताउनुभयो ।

हुलाकी राजमार्गमा पर्ने भगवानपुर, नवराजपुर, बरियारपटि, औरही गाउँपालिका र सिराहा नगरपालिका पूर्वपश्चिम लोकमार्गमा पर्ने लहान, धनगडीमाई, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकामा रहेका माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा ११ र १२ को काक्षा व्यवस्थित र नियमित रहे पनि अधिकांश ग्रामीण भेगका गाउँपालिकामा चलिरहेको कक्षा ११ र १२ व्यवस्थित नरहेको अवस्था छ ।

एसइईमा ‘ए’ प्लस र ‘ए’ ग्रेड ल्याउने सम्पन्न परिवारका विद्यार्थी कक्षा ११ मा भर्ना हुनका लागि काठमाडौँ र विराटनगर जाने लहर नै चलेको जेएस मुरारका माध्यमिक विद्यालयका प्रमुख कन्हैयाप्रसाद भट्टले बताउनुभयो ।

प्रतिक्रिया