निरक्षरताले मधेशको शिर झुकाएको छ : शिक्षामन्त्री सिंह
शिक्षाखबर डेस्क
२५ असार २०८३, बिहीबार
no immg

सिरहा / मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज सिंहले निरक्षरताका कारण मधेश प्रदेशको शिर निहुरिएको बताउनुभएको छ। सिरहाको लहान नगरपालिकालाई बुधबार साक्षर पालिका घोषणा गर्ने कार्यक्रममा सम्बोधन गर्दै उहाँले मधेश प्रदेशका आठवटै जिल्ला अझै साक्षर घोषणा हुन नसक्दा राष्ट्रिय मञ्चहरूमा प्रदेशको प्रतिनिधित्व गर्दा गौरव गर्न नसकिएको अवस्था रहेको बताउनुभयो।

“शिक्षाको हब मानिने मधेश प्रदेशका सबै जिल्ला अझै साक्षर घोषणा हुन सकेका छैनन्। यसले प्रदेशको प्रतिष्ठामा असर पुगेको छ,” मन्त्री सिंहले भन्नुभयो।

नेपालकै सबैभन्दा धेरै वडा भएको लहान नगरपालिकाले साक्षर पालिका घोषणा गरेर सिरहाका बाँकी १६ वटा स्थानीय तहलाई पनि साक्षर घोषणा गर्न प्रेरित गरेको उहाँको भनाइ थियो।

उहाँले हालसम्म मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये १४ वटा मात्रै साक्षर पालिका घोषणा भएको जानकारी दिँदै सिरहाका १७ वटै पालिकालाई साक्षर घोषणा गर्न आफू विशेष रूपमा प्रयासरत रहेको बताउनुभयो।

मन्त्री सिंहका अनुसार मधेश प्रदेशमा करिब तीन हजार २०० सामुदायिक विद्यालय छन्। सीमित बजेटका कारण सबै विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार एकैपटक सुधार गर्न सम्भव नभए पनि चालु आर्थिक वर्षमा प्रत्येक जिल्लामा दुई–दुई वटा नमूना विद्यालय निर्माण गरिने योजना रहेको छ।

त्यसैगरी चार हजार मुसहर र बाँतर समुदायका बालबालिकालाई छात्रावासमा राखेर अध्ययन गराउने, सिरहाका ८७ विद्यालयमा नमूना भान्साघर निर्माण गर्ने, शिक्षामा डिजिटल प्रविधिको विस्तार गर्ने तथा ‘छोरी–बुहारी’ कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो।

“लहान नगरपालिकाले शिक्षामा गरेको लगानी र अनुगमन प्रशंसनीय छ,” मन्त्री सिंहले भन्नुभयो।

कार्यक्रममा लहान नगरपालिका शिक्षा शाखाका प्रमुख अमिरी यादवले शिक्षक सिकाइ केन्द्र, जनप्रतिनिधि तथा माध्यमिक तहका विद्यार्थीको सक्रिय सहभागितामा समुदायस्तरमा सञ्चालन गरिएको साक्षरता अभियान सफल भएपछि पालिकालाई साक्षर घोषणा गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार लहान नगरपालिकामा १५ देखि ६० वर्ष उमेर समूहका करिब ६५ हजार जनसंख्यामध्ये ६० हजार जना साक्षर भएपछि ९६ प्रतिशत साक्षरताको मापदण्ड पूरा भएको हो। बाँकी चार प्रतिशतलाई पनि साक्षर बनाएर पूर्ण साक्षर पालिका घोषणा गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।

जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोले सिरहाका १७ वटै पालिकालाई साक्षर घोषणा गर्न स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिनुभयो। लहान नगरपालिका साक्षर घोषणा भएसँगै पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्ग क्षेत्रका अन्य पालिकाहरू पनि चाँडै साक्षर घोषणा हुने तयारीमा रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका प्रमुख तेजबहादुर खनाल तथा नेपाल पत्रकार महासङ्घ सिरहाका अध्यक्ष मनोज बनैताले सिरहा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साक्षरता अभियानमा योगदान पुर्‍याएका लहान नगरपालिकाका प्रधानाध्यापक, शिक्षक तथा सिकाइ केन्द्रका अध्यक्षहरूलाई प्रमाणपत्र, दोसल्ला र गम्छा प्रदान गरी सम्मान गरिएको थियो।

प्रतिक्रिया