काठमाडौं / स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर-२ का वडा सचिव हिरालाल काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भारतको असम प्रदेशबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश र निरन्तर पदोन्नति लिएको पुष्टि भएपछि आयोगले शुक्रबार उनीविरुद्ध आरोपपत्र दायर गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार काफ्लेले अध्ययन नै नगरी भारतको असम प्रदेशको गुवाहाटीस्थित बोर्ड अफ सेकेन्डरी एजुकेसन असमबाट सन् १९९८ मा एसएलसी सरहको परीक्षा ‘एचएसएलसी’ उत्तीर्ण गरेको झूटो तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।
सोही नक्कली प्रमाणपत्रका आधारमा काफ्लेले २३ वर्षभन्दा बढी समय सरकारी सेवामा जागिर खाएका थिए। उनको जागिरे इतिहास अनुसार २०५७ जेठ २ गते अर्जुनचौपारी गाउँ विकास समितिको कार्यालयमा कार्यालय सहयोगी पदबाट सेवा प्रवेश गरेका थिए।
त्यसपछि उनले २०६४ साउन ६ मा खरिदार, २०६७ कात्तिक १५ मा सोही कार्यालयमा कार्यालय सहायक मुखिया, २०७२ माघ १ मा सहायक चौथो तहमा बढुवा र २०७९ माघ १० मा सहायक पाँचौँ तहमा तहवृद्धि पाएका थिए।
झूटो प्रमाणपत्र पेस गरी सरकारी सेवा, ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सजाय हुन मागदाबी गरेको छ।
वडा सचिव काफ्लेले अध्ययन नै नगरी नक्कली प्रमाणपत्र ल्याएको भन्ने बेहोराको उजुरी प्राप्त भएपछि अख्तियारले उनीमाथि छानबिन सुरु गरेको थियो।
अनुसन्धानका क्रममा उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि आवश्यक सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा चलाइएको आयोगले जनाएको छ।






