‘झोलाविहीन शुक्रबार’ सिप सिक्दै विद्यार्थी
शिक्षाखबर डेस्क
२५ असार २०८३, बिहीबार
no immg

सुर्खेत / कर्णाली प्रदेश सरकारले सुरु गरेको ‘झोलाविहीन शुक्रबार’ कार्यक्रममा विद्यालयभित्र विभिन्न किसिमका सिप सिक्ने अवसर पाएपछि विद्याथी दङ्ग परेका छन् ।

प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१/८२ देखि सुरु गरेको यो कार्यक्रमले चालु आवमा पनि निरन्तरता पाएको छ । सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालय शिक्षासँगै अतिरिक्त क्रियाकलाप तथा जीवनोपयोगी ज्ञान र सिप सिकाउने उद्देश्यले कर्णाली प्रदेश सरकारले विद्यालयलाई ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएको हो ।

पछिल्लो समय विद्यालयमा शुक्रबार विभिन्न अतिरिक्त कार्यक्रम आयोजना गर्ने गरिएको छ । व्यावहारिक शिक्षा दिन सुरु गरिएको यो कार्यक्रमले विद्यार्थीमा फरक खालको उत्साह जगाएको छ । यस वर्षदेखि भने प्रदेशभरि नै कार्यक्रम कार्यान्वयन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विद्यार्थीले दैनिक रूपमा प्रयोगमा आउने सामग्रीलाई राम्रोसँग पहिचान गर्न सक्ने र बनाउन पनि सिक्ने हुँदा दैनिक प्रयोगमा आउने र अति आवश्यकीय सामग्रीलाई सिकाइमा समावेश गरिएको छ । दुनाटपरी बनाउने, नाङ्लो बनाउने, घर लिपपोत गर्ने, विद्यालयमा सरसफाइ र प्लम्बिङसम्बन्धी ज्ञान दिने योजना अनुरूप कार्यक्रम कार्यान्वयन गरिएको मन्त्रालयका महाशाखा प्रमुख सुवर्ण खड्काले बताउनुभयो ।

विद्यार्थीलाई कृषि तथा सहरी खेती, सौन्दर्यकला, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन तथा कपडा निर्माण, तार तथा बिजुली जडान, विपत् पूर्वतयारीका लागि भवन निर्माण, रैथाने कला, मोबाइल तथा विद्युतीय सामग्री, पाइप जडान तथा मर्मत र कला तथा मूर्तिकलालगायतका विषयमा विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाइने नीति अवलम्बन गरिएको छ ।

कार्यक्रममा माध्यमिक तहका विद्यार्थी सहभागी हुने छन् । जीवनोपयोगी सिपका आधारमा दिइने यस्ता प्रकारका शिक्षाले शैक्षिक बेरोजगारी समस्या हट्ने र बालबालिकाको सिर्जनशीलतामा वृद्धि हुने अपेक्षा राखिएको छ । यो कार्यक्रमको प्रभावकारीतालाई मनन गर्दे आगामी आवमा पनि कार्यक्रम कार्यान्वयनका लागि ३० लाख रुपियाँ बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताउनुभयो ।

विद्यालयलाई हप्तामा एक दिन किताबरहित बनाउँदा विद्यार्थीमा छुट्टै जोसजाँगर देखिने अभिभावकको बुझाइ छ । परीक्षणका रूपमा सञ्चालन गर्ने गरी सुरु गरिएको उक्त कार्यक्रम सुर्खेतका चार पालिकाका आठ वटा विद्यालयमा सञ्चालन गरिएको छ ।

पञ्चपुरी, लेकबेँसी र भेरीगङ्गा नगरपालिकाका एक/एक वटा र वीरेन्द्रनगर नगरपालिकाका पाँच वटा विद्यालयमा यस कार्यक्रमबाट विद्यार्थी प्रत्यक्ष रूपमा नै लाभान्वित बनेका छन् ।

विद्यार्थी किताबी अध्ययनबाट मात्र व्यावहारिक बन्न सक्दैनन् । एक दिन किताबबाहिरका विषयवस्तुबारे जानकारी दिने, विभिन्न परियोजनात्मक काममा लगाउने, उनीहरूलाई विविध प्रतियोगितात्मक कार्यक्रम खेलकुद, कला, गीतसङ्गीत, साहित्यलगायतका क्रियाकलापमा अवलोकन गराउने/सिकाउने गर्नाले पनि उनीहरूले धेरै ज्ञान हासिल गर्न सक्ने अमरज्योति माध्यमिक विद्यालय नेवारेका प्रधानाध्यापक खगेन्द्र थापाले बताउनुभयो ।

प्रतिक्रिया