नारायणगढ / वातावरण संरक्षणको संस्कार विद्यालय शिक्षाबाटै विकास गर्ने उद्देश्यले चितवनको नेपाल पुलिस स्कुल शान्तिपुरले ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान सुरु गरेको छ । अभियान अन्तर्गत विद्यालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीले आठ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण गरेको छ ।
बिरुवा लिएका विद्यार्थीले ती बिरुवा आआफ्ना घरआँगनमा लगेर रोपेका विद्यालयका समादेशक रोशन थापाले जानकारी दिनुभयो । ‘सुरक्षा, शिक्षा, अनुशासन, सामाजिकता र वातावरण संरक्षणमा नेपाल पुलिस स्कुलको सहभागिता’ भन्ने मूल उद्देश्यसाथ सुरु गरिएको अभियानमा प्रत्येक विद्यार्थीले आफूलाई मन परेको एक बिरुवा छनोट गरी घरपरिवारसँग मिलेर रोपेका हुन् ।
“वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सरसफाइ तथा सामाजिक उत्तरदायित्वबारे विद्यार्थीमा व्यावहारिक ज्ञान र सचेतना विकास गर्न अभियान अन्तर्गत एक विद्यार्थी एक बिरुवा अभियान सुरु गरिएको हो,” उहाँले भन्नुभयो ।
चितवन राष्ट्रिय निकुञ्जनजिक रहेको विद्यालयले यसअघि पनि वातावरण संरक्षण, वन्यजन्तु संरक्षण तथा स्थानीय पर्यटनसम्बन्धी विभिन्न सचेतनामूलक कार्यव्रmम सञ्चालन गर्दै आइरहेको छ । यसै शैक्षिक सत्रदेखि ‘हरित गाउँ, हरित सहर, हरियाली नेपाल’ अभियानलाई विद्यालयस्तरबाट विस्तार गरिएको पनि उहाँले जनाउनुभयो ।






