दमक / झापाको गौरादह नगरपालिकाले विद्यालयका सवारीसाधन सञ्चालनमा लापरबाही बढेको भन्दै त्यसलाई सुरक्षित र व्यवस्थित बनाउन विद्यालयहरूलाई निर्देशन दिएको छ।
नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र जारी गर्दै विद्यालयका सवारीसाधनमा अनिवार्य रूपमा सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएको हो।
जेठको दोस्रो साता सर्जक एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत बालक आरोग्य चिमरियालाई ठक्कर दिँदा मृत्यु भएको थियो। बसबाट ओर्लने क्रममा बस चलाउँदा चिमरियाको मृत्यु भएपछि यस घटनाले एक साताभन्दा बढी समय तनाव सिर्जना गरेको थियो। झापामा पछिल्लो तीन महिनाको अवधिमा आधा दर्जनभन्दा बढी विद्यालयका बस दुर्घटनामा परिसकेका छन्।
गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाका अनुसार केही विद्यालयका सवारीसाधनमा विद्यार्थीको अत्यधिक चाप, सवारीको कमजोर यान्त्रिक अवस्था र न्यूनतम सुरक्षा मापदण्डसमेत पालना नभएको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो।
नगरपालिकाले जारी गरेको परिपत्रमा अब चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्तिलाई मात्र चालक नियुक्त गर्नुपर्ने र विद्यार्थी चढाउन–ओराल्न सहयोग गर्ने एक जना सहचालक (हेल्पर) अनिवार्य रूपमा राख्नुपर्ने उल्लेख छ।
त्यसैगरी, सवारीसाधनको सिट क्षमताभन्दा बढी विद्यार्थी राख्न पूर्ण प्रतिबन्ध लगाइएको छ। विद्यार्थीको सुरक्षित आवतजावत सुनिश्चित गर्न नगरपालिकाले सबै विद्यालयलाई उक्त मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ।
यसैगरी, जेठको तेस्रो साता मेचीनगर–७ स्थित सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारीतर्फ जाँदै गरेको होलिबेल इङ्लिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो।






