दाङ / दाङको घोराहीमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर शिक्षा अधिकृतमाथि मोबिल छ्यापिएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ।
घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत अजय बोहोरामाथि घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकीले मोबिल छ्यापेका हुन्। घटना शनिबार बिहान भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घोराहीस्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन गैरकानुनी ढंगबाट गरिएको भन्दै वडा सदस्य बुढाथोकीले शिक्षा अधिकृत बोहोरामाथि उक्त व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
उक्त घटनाको भिडियो सञ्जालमा सार्वजनिक भएसगै जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धान थालेको छ। प्रहरीका अनुसार शिक्षा अधिकृत बोहोरा निर्वाचन अधिकृतका रूपमा खटिएको र निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै घटना भएको प्रारम्भिक रूपमा खुलेको छ। घटनामा संलग्न पक्षसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






