सिंहदरबार दक्षिण गेटअगाडि अनेरास्ववियुको आकस्मिक चक्काजाम र प्रदर्शन, अध्यक्ष धामीसहित ६ नेता पक्राउ
शिक्षाखबर डेस्क
३१ असार २०८३, बुधबार
no immg

काठमाडौँ / निषेधित क्षेत्र मानिने सिंहदरबारको दक्षिण गेट अगाडिको व्यस्त सडकमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आकस्मिक चक्काजाम र विरोध प्रदर्शन गरेको छ। बुधबार बिहान संगठनका कार्यकर्ताहरूले आफ्नो सवारीसाधन (मोटरसाइकल) सडकमै पार्किङ गरेर यातायात अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

मुलुकमा राज्य आतंक बढेको, विधिको शासन मिचिएको, गरिब र विपन्न वर्गको आवाज दबाइएको तथा शैक्षिक र सामाजिक क्षेत्रमा सरकारी ज्यादती बढेको भन्दै विद्यार्थीहरू सडक संघर्षमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले ‘राज्य आतंक बन्द गर’, ‘सिंहदरबार खबरदार’, ‘यो सरकार जनताको कि विदेशीको ?’ भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए। चक्काजामका कारण सिंहदरबार दक्षिण गेट आसपासको क्षेत्रमा केही समय सवारी आवागमन पूर्ण रूपमा प्रभावित बन्न पुगेको थियो भने सवारीसाधनको लामो जाम लागेको थियो।

अध्यक्ष धामीसहित ६ जना पक्राउ
आकस्मिक रूपमा गरिएको सो प्रदर्शनको जानकारी पाएलगत्तै नेपाल प्रहरीको बाक्लो टोली घटनास्थल पुगेको थियो। सुरुमा प्रहरीले मोटरसाइकल हटाएर सडक खुलाउने प्रयास गरे पनि विद्यार्थीहरूले विरोध जारी राखेपछि स्थिति तनावपूर्ण बनेको थियो।

सो क्रममा निषेधित क्षेत्र तोडेको र चक्काजाम गरेको आरोपमा प्रहरीले हस्तक्षेप गरी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित ६ जना उच्च तहका नेता तथा कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको छ।

सामाजिक सञ्जालमा बहस
यस आकस्मिक प्रदर्शन र पक्राउको घटनालाई लिएर सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। एमाले निकट विद्यार्थी र नेताहरूले सामाजिक सञ्जालमार्फत सरकारको धरपकड नीतिको कडा आलोचना गर्दै पक्राउ परेका विद्यार्थी नेताहरूको तत्काल रिहाइको माग गरेका छन्। उता, व्यस्त सडकमा मोटरसाइकल तेर्स्याएर सर्वसाधारण र यातायात सेवालाई सास्ती दिने आन्दोलनको शैलीप्रति भने कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले असन्तुष्टि समेत व्यक्त गरेका छन्।

प्रहरीले आन्दोलनकारी र मोटरसाइकलहरूलाई सडकबाट हटाएर हाल सिंहदरबार आसपासको यातायात सञ्चालनलाई सामान्य बनाएको छ।

प्रतिक्रिया