काठमाडौँ /त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भारतका विभिन्न चारवटा विश्वविद्यालयबाट शैक्षिक उपाधि हासिल गरेका ११४ जना नेपाली विद्यार्थीहरूको समकक्षता (Equivalence Certificate) रद्द गरिदिएको छ। त्रिवि पाठ्यक्रम विकास केन्द्रले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यसको आधिकारिक जानकारी दिएको हो। केन्द्रका अनुसार भारतका ती शिक्षण संस्थाहरूको वैधानिकतामाथि प्रश्न उठेपछि भारतीय विश्वविद्यालय अनुदान आयोग (UGC) सँगको समन्वयमा एक छानबनि समिति गठन गरिएको थियो। छानबिनका क्रममा ती विद्यार्थीहरूले प्रमाणपत्र लिने समयमा सम्बन्धित विश्वविद्यालयहरूको भारतीय नियमनकारी निकाय (UGC) सँगको आबद्धता टुटिसकेको वा अवैध ठहर भइसकेको पाइएपछि त्रिविले यो कडा कदम चालेको हो। कुन विश्वविद्यालयका कति विद्यार्थी परे मारमा?त्रिवि पाठ्यक्रम विकास केन्द्रका अनुसार रद्द गरिएका प्रमाणपत्रहरूमा स्नातक (Bachelor), स्नातकोत्तर (Master) र विद्यावारिधि (PhD) तहका शैक्षिक डिग्रीहरू रहेका छन्। विवरण निम्नानुसार छ: साङ्गाई इन्टरनेसनल युनिभर्सिटी (मणिपुर): सबैभन्दा धेरै ९८ जना विद्यार्थीको समकक्षता रद्द सीएमजे (CMJ) विश्वविद्यालय (मेघालय): १३ जना विद्यार्थीको समकक्षता रद्दटेक्नो ग्लोबल विश्वविद्यालय (मेघालय): २ जना विद्यार्थीको समकक्षता रद्दप्रज्ञान इन्टरनेसनल विश्वविद्यालय (झारखण्ड): १ जना विद्यार्थीको समकक्षता रद्दप्रमाण पेस गर्न दिएको ३५ दिने म्याद गुज्रियो त्रिविले यसअघि नै गोरखापत्र दैनिकमा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित विद्यार्थीहरूलाई आफ्नो डिग्री वैध रहेको स्पष्ट आधार र प्रमाण पेस गर्न सूचित गरेको थियो। तर, तोकिएको म्यादभित्र सम्बन्धित व्यक्तिहरूबाट समकक्षता रद्द गर्नु नपर्ने कुनै पनि ठोस आधार र कागजात पेस हुन नसकेपछि ‘त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षतासम्बन्धी विनियम २०८२’ को दफा २१ बमोजिम पुराना प्रमाणपत्रहरू खारेज गरिएको केन्द्रले जनाएको छ।






