काठमाडौँ । कैलालीको गेटास्थित सुदूरपश्चिमकै गौरवको आयोजनाका रूपमा रहेको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले नयाँ शैक्षिक तथा प्रशासनिक नेतृत्व पाएको छ। नवगठित विश्वविद्यालयको नेतृत्वलाई पूर्णता दिँदै नवनियुक्त उपकुलपति प्रा. डा. सुनीलकुमार जोशी र रजिस्ट्रार डा. भीमबहादुर चन्दले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त पदाधिकारीद्वयलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। सोही दिन मन्त्रालयमा बसेको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रमका आधारमा पहिलो नम्बरमा रहनुभएका प्रा. डा. जोशीलाई उपकुलपतिमा र डा. चन्दलाई रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो। सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले बुझाएको सिलबन्दी प्रतिवेदनका आधारमा मन्त्री पोखरेलले योग्यताक्रम अनुसारका नामहरू सार्वजनिक गर्दै नियुक्तिको घोषणा गर्नुभएको हो।
विश्वविद्यालयको नेतृत्व सम्हाल्नुभएका नवनियुक्त उपकुलपति प्रा. डा. सुनीलकुमार जोशी चिकित्सा शिक्षा र जनस्वास्थ्यका क्षेत्रमा लामो प्राज्ञिक अनुभव बोक्नुभएका विज्ञ हुनुहुन्छ। उहाँले ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विनायक मिसन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गर्नुभएको छ भने यसअघि पनि विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयमा प्राध्यापकका रूपमा अध्यापन तथा अनुसन्धानमा सक्रिय रहँदै आउनुभएको थियो।
त्यस्तै, रजिस्ट्रारमा नियुक्त हुनुभएका डा. भीमबहादुर चन्द स्वास्थ्य सेवा व्यवस्थापन, नीति निर्माण तथा प्रशासनका क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव हासिल गर्नुभएका स्थापित व्यक्तित्व हुनुहुन्छ। बैतडीको पाटन नगरपालिका–१ का स्थायी बासिन्दा डा. चन्दले यसअघि नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यका रूपमा समेत महत्त्वपूर्ण योगदान पुर्याइसक्नुभएको छ।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको कानुनी व्यवस्था अनुसार सिफारिस समितिले योग्यताक्रमका आधारमा तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने प्रावधान रहेको छ। लामो समयदेखि आधुनिक भौतिक पूर्वाधार बनेर पनि सञ्चालनको पर्खाइमा रहेको गेटा अस्पताल परिसरमा अब विश्वविद्यालयका नवीन पदाधिकारीहरूको आगमनसँगै सुदूरपश्चिम क्षेत्रको चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवाले नयाँ गति लिने विश्वास सर्वसाधारण र सरोकारवालाहरूले व्यक्त गरेका छन्।






