शिलान्यासको १० वर्षमा पनि बनेन आदिकवि भानुभक्तको जन्मघर: २३ वर्षदेखि भग्नावशेषमै सीमित, चौतर्फी निराशा
शिक्षाखबर डेस्क
३२ असार २०८३, बिहीबार
no immg

तनहुँ /नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको ऐतिहासिक जन्मघर पुनर्निर्माणका लागि तामझामका साथ शिलान्यास भएको एक दशक बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन। वि.सं. २०७३ मा सुरु गरिएको सो परियोजना सरकारी उपेक्षा र सरोकारवाला निकायहरूको चरम ढिलासुस्तीका कारण अहिले पूर्ण रूपमा अलपत्र परेको हो। तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी, पूर्वमुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका तत्कालीन अध्यक्ष रामकाजी कोनेले संयुक्त रूपमा ६८ लाख रुपियाँको लागतमा परम्परागत शैलीमै घर पुनर्निर्माण गर्ने योजनासहित यसको शिलान्यास गर्नुभएको थियो। तर, शिलान्यासको एक दशक बितिसक्दा समेत योजना अघि नबढ्दा त्यहाँ शिलान्यासको ढुङ्गाबाहेक अन्य कुनै पनि भौतिक प्रगति देखिन सकेको छैन।

विगत २०६० साल जेठमा भएको भीषण आगलागीबाट जलेर नष्ट भएको तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घास्थित भानुभक्तको जन्मघर २३ वर्षदेखि भग्नावशेषमै सीमित रहँदै आएको छ। हरेक वर्ष भानुजयन्ती मनाउन र नेपाली भाषाका धरोहरको जन्मस्थल नियाल्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरू अहिले त्यहाँ झाडी र डढेका काठका अवशेष मात्र देख्दा निराश भएर फर्कने गरेका छन्। यसै सन्दर्भमा गीतकार सागर उदासले दुःख व्यक्त गर्दै भानुजयन्तीका अवसरमा देश–विदेशबाट आउने पाहुनाले २३ वर्षसम्म पनि भग्नावशेष मात्रै देख्दा राज्यले आफ्नो भाषिक तथा साहित्यिक सम्पदाको संरक्षणमा कतिसम्म बेवास्ता गरेको रहेछ भन्ने निराशाजनक सन्देश गएको र यो समग्र नेपाली साहित्यकै लागि लज्जास्पद विषय भएको बताउनुभएको छ। यसअघि वि.सं. २०५७ सालमा चलचित्र ‘आदिकवि भानुभक्त’ निर्माणका क्रममा निर्देशक तथा निर्माता यादव खरेलको विशेष पहलमा परम्परागत शैलीमा घर ठडिए पनि तीन वर्ष नपुग्दै पुनः आगलागीको चपेटामा परेको इतिहास छ।

त्रिभुवन विश्वविद्यालयका इतिहासविद् डा. रामराज सुवेदीको नेतृत्वमा गरिएको वैज्ञानिक उत्खननबाट सो घरको पुरानो जग, मूलढोकाको संरचना, अगेनाको खरानी, चाँदीका बाला तथा ऐतिहासिक थुर्पीलगायतका सामग्री फेला परेका थिए। ती ऐतिहासिक सामग्रीहरूलाई अहिले आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालयमा सुरक्षित राखिएको भए तापनि मुख्य धरोहर मानिएको जन्मघर भने बन्न सकेको छैन। भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले पश्चिमाञ्चल विकास मञ्चले घर बनाउने प्रतिबद्धता र आश्वासन अझै कायम राखेको जानकारी दिनुभएको छ। उहाँका अनुसार मञ्चले निर्माण नगरेको खण्डमा नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ‘भानु साहित्य उद्यान’ अन्तर्गत २५ करोड रुपियाँ विनियोजन गरेको र सोही बजेटबाट भानुको घर लगायतको बृहत उद्यान बनाइने योजना रहेको छ।

अर्कोतर्फ, घर निर्माण मात्र नभई यसको दीर्घकालीन सुरक्षा र संरक्षणको विषय पनि उत्तिकै पेचिलो र चुनौतीपूर्ण बन्दै गएको छ। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका पूर्वअध्यक्ष रामकुमार श्रेष्ठले पर्याप्त सुरक्षा व्यवस्था नभएसम्म घर पुनर्निर्माण गर्दा फेरि आगलागी वा क्षति हुन सक्ने गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। यसै विषयलाई सम्बोधन गर्न र जन्मस्थलको पूर्ण सुरक्षा सुनिश्चित गर्नका लागि समितिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेरै त्यहाँ नेपाली सेनाको सुरक्षा टुकडी राख्न र पर्याप्त सुरक्षा व्यवस्थासहितको दीर्घकालीन योजना ल्याउन जोडदार माग समेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै