सुर्खेत / कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा एउटा ठूलो र गौरवपूर्ण ऐतिहासिक सफलता हासिल भएको छ। सुर्खेतस्थित प्रदेश अस्पतालमा पाँच वर्षको अवधिमा नौ जना बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ। स्वास्थ्य सेवालाई विकेन्द्रित गर्दै मोफसलमै विशिष्टीकृत सेवा उपलब्ध गराउने उद्देश्यका साथ प्रदेश अस्पताल सुर्खेतले काठमाडौँको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग २०७८ साल चैत १० गते औपचारिक सम्झौता गरेको थियो। सोही सम्झौता अनुरूप अस्पतालले मिर्गौला प्रत्यारोपण सेवालाई निरन्तर र सफल रूपमा सञ्चालन गर्दै आएको छ।
यसै अभियान अन्तर्गत पछिल्लो पटक गत असार २३ गते दुई जना बिरामीको सफल मिर्गौला प्रत्यारोपण गरिएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का शिवराज गुइँदेल र कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–५ का अजय चौधरीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको हो। यस जटिल शल्यक्रियामा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका स्थापित विशेषज्ञ चिकित्सकहरू डा. दिपेश श्रेष्ठ, डा. शोभित थापा, डा. रुवसनाथ योगी र डा. रोजन अधिकारीलगायतको विशेष टिम सहभागी भएको थियो। अस्पतालले हालै एक पत्रकार सम्मेलनको आयोजना गरी बर्सेनि मिर्गौला प्रत्यारोपणको काम सफल भइरहेको र यसले कर्णालीबासीलाई नयाँ जीवन दिएको जानकारी गराएको छ।
यस पटकको प्रत्यारोपणको सबैभन्दा सुखद पक्ष भनेको प्राविधिक जनशक्तिमा प्रदेश अस्पताल आफैँ आत्मनिर्भर बन्दै जानु हो। मिर्गौला प्रत्यारोपणमा सक्रिय रूपमा संलग्न प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सक डा. विकास खड्काका अनुसार विगतका वर्षहरूमा काठमाडौँको केन्द्रबाट प्रत्यारोपणका लागि ३० जना सम्मको ठूलो टोली आउनुपर्ने बाध्यता थियो। तर, यस पटकको अपरेसनमा केन्द्रबाट केवल सात जना मात्रै विशेषज्ञ आएका थिए भने शल्यक्रिया कक्षदेखि हेरचाहसम्मका बाँकी सम्पूर्ण प्राविधिक र चिकित्सकिय काममा प्रदेश अस्पतालकै आफ्नै जनशक्ति परिचालित भएका थिए। अस्पतालका निर्देशक डा. गणेश थापाले मिर्गौला प्रत्यारोपणमा लगातार सफलता पाएसँगै अस्पतालले भविष्यमा एकल रूपमै शल्यक्रिया गर्न सक्ने गरी सम्बन्धित जनशक्तिलाई उच्च प्राथमिकताका साथ तयार पारिरहेको जानकारी दिनुभयो।
आफ्नै गृहजिल्ला र पायक पर्ने स्थानमा यो जटिल सेवा उपलब्ध हुँदा विपन्न तथा सर्वसाधारण बिरामीहरूलाई ठूलो आर्थिक राहत मिलेको छ। मिर्गौला सफल प्रत्यारोपण गराउनुभएका बिरामी पृथ्वी चौधरीले मिर्गौला फेल भएको डेढ वर्षको कष्टकर अवधिमा देशका धेरै ठाउँमा भौँतारिएको र अन्तिममा सुर्खेतमै आएर सफल उपचार पाएको भन्दै खुसी व्यक्त गर्नुभयो। यस्तै, अर्का बिरामी शिवराज गुइँदेलकी श्रीमती रिता परियारले उपचारका लागि पटक-पटक काठमाडौँ र भारतका विभिन्न अस्पतालहरू धाउँदा ठूलो रकम खर्च भइसकेको स्मरण गर्दै अन्त्यमा आफ्नै गृहजिल्लामा निःशुल्क रूपमा प्रत्यारोपण र उपचार सम्भव भएकाले निम्नवर्गका बिरामीका लागि यो अस्पताल भगवान् साबित भएको बताउनुभयो।
चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपण आफैँमा निकै महँगो र जटिल उपचार पद्धति हो, जसमा प्रत्यारोपणका लागि मात्रै न्यूनतम आठदेखि १० लाख रुपियाँ खर्च हुने गर्दछ भने अन्य सहायक उपचारको शुल्क छुट्टै लाग्ने गर्दछ। यस्तो महँगो उपचारलाई सर्वसाधारणको पहुँचमा पुर्याउन कर्णाली प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि प्रतिबिरामी तीन लाख रुपियाँ आर्थिक सहयोग समेत उपलब्ध गराउँदै आएको छ। अस्पताल प्रशासनले यस गौरवपूर्ण र उदाहरणीय सेवाको व्यापक प्रचारप्रसार आवश्यक रहेको औंल्याउँदै आगामी दिनमा पनि मिर्गौला प्रत्यारोपणको कामलाई थप व्यवस्थित र निरन्तर रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।






