सार्वजनिक शिक्षा सुधार र डिजिटल सिकाइमा नेपाल-जापान सहकार्य: शिक्षामन्त्री पोखरेल र जापानी राजदूत तोरुबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता
शिक्षाखबर डेस्क
३२ असार २०८३, बिहीबार
no immg

काठमाडौँ / नेपाल र जापानबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै शैक्षिक विकासका बहुआयामिक क्षेत्रमा सहकार्य गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ। शिक्षा तथा खेलकुदमन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो। भेटका क्रममा दुई देशबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित र आगामी दिनमा नेपालको सार्वजनिक शिक्षा क्षेत्रको रूपान्तरणका लागि गर्न सकिने सम्भावित प्राविधिक तथा भौतिक सहकार्यका क्षेत्रबारे गहन विचार-विमर्श भएको छ।

भेटवार्ताका क्रममा मन्त्री पोखरेलले नेपाल र जापानबीचको ऐतिहासिक तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै वर्तमान सरकार सार्वजनिक शिक्षा सुधारका लागि पूर्ण प्रतिबद्धताका साथ अघि बढिरहेको स्पष्ट पार्नुभयो। सार्वजनिक शिक्षा सुधारका चुनौतीहरूलाई स्वीकार्नु नै सुधारको प्रारम्भिक पूर्वशर्त भएको उल्लेख गर्दै उहाँले शिक्षामा गरिएको लगानीको प्रतिफल प्राप्त हुन समय लाग्ने भए तापनि सुधार र परिवर्तनको प्रक्रिया तत्काल सुरु गरिसकिएको जानकारी दिनुभयो। मन्त्रालयले हाल विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाएको र सोही वस्तुगत आधारमा आगामी दिनमा आवश्यकता अनुसार बजेट विनियोजन गरिने स्पष्ट पार्दै भौतिक पूर्वाधार, शैक्षिक सुविधा तथा शिक्षक तालिम जस्ता प्राथमिक क्षेत्रमा मन्त्रालयले रणनीतिक रूपमा काम गरिरहेको विश्वास दिलाउनुभयो।

मन्त्री पोखरेलले नेपालको शैक्षिक विकासका लागि सुरक्षित विद्यालय पूर्वाधार, ‘डिजिटल’ तथा ‘स्मार्ट लर्निङ’, शिक्षकहरूको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणलगायतका क्षेत्रमा जापान सरकारसँग बलियो सहकार्य गर्न नेपाल तयार रहेको बताउनुभयो। विशेष गरी जापानमा विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई सांस्कृतिक मूल्य-मान्यता, सामाजिक उत्तरदायित्व र अनुशासन सिकाउने उदाहरणीय अभ्यास रहेकाले नेपालले पनि त्यसको अनुशरण गरी विद्यार्थीहरूमा सहकार्यको भावना विकास गर्ने विशेष कार्यक्रमहरू सञ्चालन गर्न चाहेको धारणा राख्नुभयो। परिवर्तित राजनीतिक तथा सामाजिक सन्दर्भअनुसार नयाँ सोच र सुधारसहित सरकार अघि बढिरहेकाले सम्भावित सबै क्षेत्रमा जापान सरकारसँग रणनीतिक साझेदारी गर्न नेपाल खुला रहेको उहाँको भनाइ थियो।

जापानी राजदूत मायदा तोरुले नेपाल सरकारले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि चालेका सकारात्मक प्रयासहरूको सराहना गर्दै त्यसमा जापान सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यालय शिक्षाको वास्तविक सुधार र सुशासनका लागि दीर्घकालीन राजनीतिक प्रतिबद्धता, सक्षम कर्मचारीतन्त्र तथा समग्र शैक्षिक प्रणालीप्रतिको जनविश्वास अपरिहार्य हुने उल्लेख गर्दै ती पहलहरूमा जापानले आवश्यक प्राविधिक सहयोग गर्ने बताउनुभयो। गुणस्तरीय विद्यालय शिक्षाका लागि शिक्षक तालिमलाई मुख्य कडीका रूपमा औंल्याउँदै राजदूत तोरुले शिक्षकको पेसागत विकासका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा उपयोग गर्न नेपाल सरकारलाई महत्वपूर्ण सुझाव दिनुभयो।

शिक्षा क्षेत्रमा हुने नीतिगत र संरचनागत सुधारले अपेक्षित परिणाम दिन लामो समय लिने भएकाले प्रारम्भिक चरणमै दृढ प्रतिबद्धता र धैर्यता आवश्यक रहने राजदूत तोरुको भनाइ थियो। उहाँले नेपालले नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण तथा पूर्वाधार विकासलाई थप गति दिन सकेको खण्डमा नेपाली बजारमा जापानी निजी क्षेत्रको आकर्षण र लगानी अझ बढ्न सक्ने सम्भावना औंल्याउनुभयो। विशेष गरी सूचना प्रविधि (IT) को क्षेत्रमा नेपाल र जापानबीच सहकार्य विस्तार गर्ने प्रशस्त अवसरहरू रहेको उल्लेख गर्दै उहाँले डिजिटल पूर्वाधारको विस्तार, प्राविधिक जनशक्तिको विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा दुवै देशले आपसी सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै