नवलपुर / नवलपुरको कावासोतीस्थित मध्यविन्दु प्रादेशिक अस्पतालले आफ्नो सेवालाई थप गुणस्तरीय, विशिष्टीकृत र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ बृहत् सेवा विस्तार र सुदृढीकरणको अभियान सुरु गरेको छ। अस्पताल प्रशासनले शुक्रबार एक विशेष समारोहका बीच आधुनिक चिकित्सा उपकरणहरूले सुसज्जित १० शय्या क्षमताका तीन वटा अत्याधुनिक शल्यक्रिया कक्ष (ओटी), शल्यक्रियापश्चात् बिरामीलाई सघन निगरानीमा राख्ने ‘पोष्ट अपरेटिङ केयर युनिट’, तथा जटिल अवस्थाका नवजात शिशुहरूको जीवन रक्षाका लागि विशेष नवजात शिशु स्याहार एकाइ (SNCU) र नवजात शिशु सघन उपचार कक्ष (NICU) को औपचारिक शुभारम्भ गरेको हो। यससँगै अस्पतालले आफ्ना सम्पूर्ण उपचारात्मक र प्रशासनिक कार्यहरू पूर्ण रूपमा नयाँ, सुविधायुक्त भवनबाट सञ्चालन गर्न सुरु गरेको छ, जसले सेवाग्राहीलाई सहजता प्रदान गर्ने विश्वास लिइएको छ। अस्पतालका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले अथक मेहनत र सबै सरोकारवालाहरूको सामूहिक प्रयासका कारण यो सफलता सम्भव भएको बताउनुभयो।
अस्पताललाई गण्डकी प्रदेशकै नमुना र सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८३/८४ का लागि महत्त्वाकांक्षी र रणनीतिक योजनाहरूसमेत सार्वजनिक गरिएको छ। गण्डकी प्रदेश सरकारको मातहतमा सञ्चालित यस अस्पतालले भौतिक पूर्वाधार विकास, विशेषज्ञ सेवाको विस्तार र अत्याधुनिक स्वास्थ्य उपकरणहरूको खरिदलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ कार्यक्रमहरू अगाडि सारेको छ। मेसु डा. आचार्यका अनुसार हाल सरकारी स्वीकृति प्राप्त १०० शय्यामा सञ्चालन भइरहेको यस अस्पतालमा वार्षिक रूपमा बिरामीको चाप निरन्तर बढिरहेकाले बढ्दो सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न नयाँ कार्यक्रमहरू प्रस्ताव गरिएको हो। अस्पतालप्रति नागरिकको विश्वास बढ्दै गएको र यसले थप जिम्मेवारी थपेको डा. आचार्यले उल्लेख गर्नुभयो।
नयाँ आर्थिक वर्षका योजनाहरू अन्तर्गत अस्पतालले चिकित्सक तथा विशेषज्ञहरूलाई २४सै घण्टा अस्पताल परिसरमै उपलब्ध गराउने उद्देश्यले करिब ८ करोड रुपियाँको बजेट प्रस्ताव गरी चिकित्सक आवास गृह (क्वार्टर) निर्माण गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ। यसका साथै, अस्पताल परिसरमा आधुनिक चमेना गृह निर्माण, अस्पताल पुग्ने दुवै पहुँचमार्गहरूको ढलान तथा कालोपत्रे, मुख्य अस्पताल भवनमा बिरामीको सहजताका लागि लिफ्ट जडान, र प्रयोगशाला सेवाको गुणस्तर अभिवृद्धि एवं विस्तार गर्ने योजनाहरू पनि समावेश गरिएको छ। अस्पतालले सीटी स्क्यान मेसिन खरिद र ट्रमा केयर युनिटको विस्तारलाई सबैभन्दा महत्त्वपूर्ण योजनाका रूपमा प्राथमिकतामा राखेको छ, जसले गर्दा हाल सीटी स्क्यान सेवा लिन भरतपुर वा बुटवल जानुपर्ने नवलपुरका बिरामीहरूको बाध्यता हट्ने र आफ्नै परिसरबाट उक्त विशेषज्ञ सेवा उपलब्ध हुने लक्ष्य लिइएको छ। डेन्टल पानोरामिक एक्स–रे प्रणाली खरिद गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
अस्पतालले आगामी आर्थिक वर्षदेखि विपन्न गर्भवती महिलाहरूका लागि निःशुल्क अल्ट्रासाउण्ड (युएसजी) सेवा सञ्चालन गर्ने सामाजिक सुरक्षाको योजनासमेत बनाएको छ। यसका साथै, थाइराइड शल्यक्रिया सेवा (इएनटी) को विस्तारका लागि अडियोलोजी युनिटको स्थापना, स्तन उपचार केन्द्र (ब्रेस्ट क्लिनिक) सञ्चालन, तथा अस्पतालको प्रशासनिक र उपचारात्मक अभिलेखलाई प्रविधिमैत्री बनाउन इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) प्रणालीको विस्तारलाई समेत प्राथमिकतामा राखिएको छ। अस्पतालले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बहिरङ्ग (ओपीडी), आकस्मिक सेवा, भर्ना हुने बिरामी, शल्यक्रिया, प्रयोगशाला परीक्षण तथा एक्स–रे सेवा लिने बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। २०६४ सालमा १५ शय्याको सामुदायिक अस्पतालका रूपमा स्थापना भई ५० शय्याबाट स्तरोन्नति हुँदै हाल १०० शय्याको प्रादेशिक अस्पतालका रूपमा करिब १५ बिघा क्षेत्रफलमा फैलिएको यो अस्पतालले नवलपुर र आसपासका नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।






