विद्यार्थी न्यून भएपछि बेलौरीका चार विद्यालय समायोजन, चारको तह मिलान: ३१ बाट २७ मा झरे सामुदायिक विद्यालय
शिक्षाखबर डेस्क
१० घण्टा अगाडि
no immg

कञ्चनपुर / कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यका साथ विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून भएका चार वटा आधारभूत विद्यालयहरूलाई समायोजन (मर्ज) गरेको छ। विद्यार्थी सङ्ख्या कम भई लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका विद्यालयहरूलाई एकापसमा गाभ्नुका साथै नगरपालिकाले अन्य केही विद्यालयहरूको साविकको कक्षा तहसमेत घटाई मिलान गरेको जनाएको छ। गत वैशाख महिनामा शिक्षा शाखा र सरोकारवालाहरूबाट गरिएको स्थलगत अनुगमनका क्रममा आधारभूत तहका कतिपय विद्यालयमा प्रति कक्षामा न्यूनतम ५० जना विद्यार्थीसमेत नभएको निराशाजनक अवस्था पाइएपछि कार्यविधि अनुसार यो ठोस कदम चालिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीका अनुसार ‘नगरपालिकाको विद्यालय समायोजन, दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०८३’ को दफा ९ (क) बमोजिम असार २८ गतेदेखि नै लागू हुने गरी चार वटा आधारभूत विद्यालयको तह मिलान र अन्य चार वटा आधारभूत विद्यालयको समायोजन गरिएको हो। यो नयाँ व्यवस्था लागू हुनुअघि बेलौरी नगरपालिका क्षेत्रभित्र कुल ३१ वटा सामुदायिक विद्यालयहरू सञ्चालनमा रहेकामा समायोजनको प्रक्रिया पूरा भएसँगै अब २७ वटा विद्यालयहरू मात्र कायम भएका छन्। नगरपालिकाको शिक्षा शाखाले दिएको आधिकारिक जानकारी अनुसार हाल कायम रहेका यी विद्यालयहरूमा कुल १० हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन्।

नगरपालिकाका शिक्षा शाखा प्रमुख अमितप्रसाद भट्टका अनुसार समायोजन गरिएका विद्यालयहरूमा बेलौरी–२ स्थित जनप्रिय आधारभूत विद्यालय रहेको छ, जसलाई २.५ किलोमिटरको दूरीमा रहेको लक्ष्मी आधारभूत विद्यालय जबदियामा गाभिएको छ। गत वैशाखको अनुगमनमा जनप्रियमा मात्र १० जना विद्यार्थी अध्ययनरत पाइएको थियो। यस्तै, केवल ३० जना विद्यार्थी मात्र रहेको बेलौरी–२ चारघरुवास्थित बीपी स्मृति आधारभूत विद्यालयलाई १.५ किलोमिटर टाढा रहेको जनसेवा आधारभूत विद्यालय टेडुवामा समायोजन गरिएको छ। यसैगरी, १३ जना विद्यार्थी मात्र बाँकी रहेको बेलौरी–३ मोतीपुरस्थित गौरीशंकर आधारभूत विद्यालयलाई एक किलोमिटर दूरीमा रहेको सरस्वती माध्यमिक विद्यालय बुटावारीमा र १४ जना विद्यार्थी मात्र रहेको बेलौरी–४ मोतीपुरस्थित अग्रासन आधारभूत विद्यालयलाई २.५ किलोमिटर दूरीमा रहेको शान्ति माध्यमिक विद्यालय शान्तिपुरमा समायोजन गरिएको छ। समायोजन हुनुअघि ती विद्यालयका कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीहरूले आगामी महिनादेखि गाभिएका नयाँ विद्यालयहरूमा अध्ययन गर्ने व्यवस्था मिलाइएको छ। यस विद्यालय समायोजन प्रक्रियाबाट नगरपालिकाको वार्षिक करिब १० लाख रुपैयाँ प्रशासनिक खर्च बचत हुने अपेक्षा शिक्षा शाखा प्रमुख भट्टले व्यक्त गर्नुभयो।

विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गएपछि नगरपालिकाले केही विद्यालयहरूको तह घटाएर कक्षा ३ सम्म मात्र सीमित गर्ने निर्णयसमेत गरेको छ। जसअनुसार बेलौरी–८ कानपुरस्थित शक्ति आधारभूत विद्यालय (हाल १५ विद्यार्थी र दुई शिक्षक) र बेलौरी–९ स्थित शुक्लाफाँटा आधारभूत विद्यालय (हाल २४ विद्यार्थी, दुई बालविकास शिक्षक र दुई शिक्षक) लाई साविकको कक्षा ५ बाट घटाएर कक्षा ३ सम्म मात्र कायम गरिएको छ। यसैगरी, यसअघि कक्षा ५ सम्म सञ्चालन हुँदै आएका बेलौरी–५ स्थित कृष्णप्रसाद आधारभूत विद्यालय र बेलौरी–१ स्थित सरस्वती आधारभूत विद्यालयको पनि तह घटाएर कक्षा ३ सम्म मात्र सञ्चालन गरिने गरी तह मिलान गरिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै