हुम्ला / कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा अवस्थित ताँजाकोट गाउँपालिका–३, मासपुरगाउँका बासिन्दाहरू अझै पनि आधारभूत स्वास्थ्य उपचारका लागि निकै कठिनपूर्ण जीवन जिउन बाध्य छन्। सडक सञ्जालले नजोडिएको यस गाउँका बिरामीलाई सामान्य उपचारभन्दा बाहिरको सेवा चाहिएमा झण्डै एक दिनभरिको पैदल यात्रा तय गरेर मात्र अस्पताल पुग्नुपर्ने विवशता छ।
२२ घरधुरी मात्र रहेको मासपुरगाउँमा स्थानीय सरकारले आधारभूत सामुदायिक स्वास्थ्य एकाइ त स्थापना गरेको छ, तर त्यहाँ न आवश्यक जनशक्ति छन्, न त पर्याप्त औषधि नै। SIP नेपाल नामक संस्थाले एक जना स्वास्थ्यकर्मी र केही औषधिको व्यवस्था गरिदिए पनि जटिल प्रकृतिका सबै खाले बिरामीको उपचार त्यहाँ सम्भव छैन।
स्थानीय केशबहादुर रोकायाले आफ्नी नसासम्बन्धी रोगबाट पीडित श्रीमती जानकीलाई उपचारका लागि दिनभरि हिँडाएर कवाडीस्थित स्वास्थ्य चौकी पुर्याएको दुःखेसो सुनाउनुभयो। मासपुरबाट बिहानै हिँडेका उनीहरू बेलुका ६-७ बजे मात्र कवाडी पुग्न सकेका थिए। यस्तै, अर्का स्थानीय धनबहादुर बुढाले आफ्ना पाँच वर्षीय बिरामी छोरालाई गाउँबाट पालैपालो बोकेर निकै कष्टका साथ कवाडी स्वास्थ्य चौकी पुर्याएको गुनासो गर्नुभयो।
बिरामीको अवस्था हेरी कतिपयलाई स्ट्रेचरमा बोकेर, कतिपयलाई ढाडमा बोकेर त कतिपयलाई हिँडाएरै अस्पताल लैजानुपर्ने बाध्यता मासपुरवासीको नियति नै बनेको छ। मासपुरकी स्वास्थ्यकर्मी करुणा कुँवरका अनुसार गाउँपालिकाले एकाइ स्थापना गरे पनि स्रोत-साधनको चरम अभाव छ। यसले स्थानीयलाई शारीरिक, मानसिक र आर्थिक रूपमा थप पीडित बनाएको छ। सडक सञ्जाल नजोडिँदासम्म बिरामी पर्दा मात्र होइन, खाद्यान्न, दैनिक उपभोग्य वस्तु र लत्ताकपडाका लागि पनि मासपुरवासीले दिनभरिको पैदल यात्रा गरेर सामान बोकेर ल्याउनुपर्ने अवस्था कायमै छ।
सल्यानमा विशेषज्ञ चिकित्सक अभाव, युवाहरूद्वारा प्रदेश मन्त्रालयमा ज्ञापनपत्र
सल्यान, १ साउन (शारदा समाचारदाता) ।
सल्यान जिल्ला अस्पतालमा लामो समयदेखि विशेषज्ञ चिकित्सकहरूको चरम अभाव भएपछि आकस्मिक शल्यक्रिया सेवा ठप्प भएको छ। यस समस्याको तत्काल समाधान र स्वीकृत दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न माग गर्दै सल्यानी युवाहरूको एउटा टोली कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेको छ।
जिल्लावासीले विशेषज्ञ सेवा नपाएर भोग्नु परेको सास्तीप्रति गम्भीर बन्दै युवा अगुवाहरू युवराज खड्का, राजेशकुमार वली लगायतको टोलीले कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पुगेर ज्ञापनपत्र बुझाएको छ। टोलीले मन्त्रालयका निमित्त सचिव एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीलाई अस्पतालको वस्तुस्थितिबारे अवगत गराएको थियो।
ज्ञापनपत्र बुझाएपछि युवा अगुवा राजेशकुमार वलीले दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक तत्काल पठाउन आग्रह गरिएको र मन्त्रालयले यस विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो।
सल्यान जिल्ला अस्पताल १५ शय्याको स्वीकृत अस्पताल भए पनि अस्पताल विकास समितिले ३५ शय्या थप गरी हाल ५० शय्या सञ्चालन गरिरहेको छ। अस्पतालका डा. अर्जुनकुमार बुढामगरका अनुसार विशेषज्ञ चिकित्सक नहुँदा जटिल प्रकारका सेवाहरू बन्द गर्नुपरेको हो। अस्पतालमा सात जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अधिकृतको दरबन्दी भए तापनि हाल केवल एक जना विशेषज्ञ र चार जना मेडिकल अधिकृत मात्र कार्यरत छन्। दरबन्दी अनुसारका चिकित्सक नहुँदा सल्यानवासी आधारभूत र आकस्मिक शल्यक्रिया सेवाबाट वञ्चित भएका छन्।






