घोराही / दाङको तुलसीपुर उपमहानगरपालिका–३ बल्लेमा जङ्गली च्याउ खाँदा एक जनाको दुःखद मृत्यु भएको छ भने एकै घरका अन्य चार जना बिरामी परेका छन्। मृत्यु हुनेमा ३७ वर्षीया दिपा पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार स्थानीय जङ्गलबाट टिपरे ल्याइएको च्याउ पकाएर खाएपछि शुक्रबार एकै परिवारका पाँच जना सदस्यहरू एक्कासि बिरामी परेका थिए। विषालु च्याउका कारण बिरामीहरूको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनीहरूलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारका लागि भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको थियो।
घोराहीमा उपचार भइरहँदा पनि बिरामीमध्ये दिपा पुनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर र नाजुक बनेपछि उहाँलाई आकस्मिक रूपमा गोग्लीस्थित संजीवनी अस्पतालमा स्थानान्तरण गरिएको थियो। त्यहाँ पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि चिकित्सकहरूको सल्लाह अनुसार थप उच्च उपचारका लागि बाँकेको नेपालगञ्ज लैजाँदै गर्दा शनिबार बाटोमै उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो। च्याउ खाएर बिरामी परेका अन्य चार जना सदस्यहरूको भने सघन उपचारपछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएकाले अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
यो दुःखद घटनापछि जिल्ला प्रहरी कार्यालय दाङले आम सर्वसाधारणलाई जङ्गली तथा पहिचान नभएका अपरिचित च्याउ सेवन नगर्न कडा चेतावनीसहित सचेतना अपिल जारी गरेको छ। वर्षाको समयमा जङ्गलमा उम्रिने विषालु च्याउको पहिचान गर्न सामान्य आँखाले निकै कठिन हुने र यसले मानवीय क्षति निम्त्याउने भएकाले आफूले चिनेको, प्रयोगशालाबाट प्रमाणित भएको र बजारमा पाइने सुरक्षित च्याउ मात्र सेवन गर्न प्रहरीले स्थानीय समुदायलाई विशेष अनुरोध गरेको छ।






