छुर्पी, अदुवा र गलैँचा निर्यातका लागि सरकारद्वारा तीनवटा राष्ट्रिय रणनीतिक कार्ययोजना स्वीकृत: व्यापार घाटा कम गर्ने लक्ष्य
शिक्षाखबर डेस्क
३ श्रावण २०८३, आईतवार
no immg

काठमाडौँ / नेपाल सरकारले उच्च निर्यात सम्भावना भएका मौलिक स्वदेशी उत्पादनहरू छुर्पी, अदुवा र गलैँचाको उत्पादन तथा निर्यात प्रवर्धनका लागि छुट्टाछुट्टै राष्ट्रिय रणनीतिक कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘नेपाल व्यापार एकीकृत रणनीति’ कार्यान्वयन अन्तर्गत यी तीन वस्तुको उत्पादन, गुणस्तर सुधार, मूल्य अभिवृद्धि तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई लक्षित गर्दै रणनीतिक कार्ययोजना कार्यान्वयनमा ल्याएको हो । नेपाली परम्परागत सिप, जैविक कृषि तथा विशिष्ट हस्तकलात्मक सिपको उत्थान गर्दै स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरी अन्तर्राष्ट्रिय मूल्यशृङ्खलामा उत्पादित वस्तुलाई आबद्ध गराउने मुख्य ध्येयका साथ यो योजना अघि सारिएको मन्त्रालयले जनाएको छ । यी विशिष्ट वस्तुहरूको निर्यात परिमाण बढाएर मुलुकको बढ्दो व्यापार घाटा कम गर्ने मन्त्रालयको मुख्य लक्ष्य रहेको छ ।

मन्त्रालयले अन्तरमन्त्रालय समन्वय तथा निजी क्षेत्रका छाता सङ्गठनहरूको महत्त्वपूर्ण सुझावका आधारमा यी दीर्घकालीन रणनीतिहरू तयार गरेको थियो । जसअन्तर्गत छुर्पी निर्यात राष्ट्रिय रणनीतिक कार्ययोजनाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा रैथाने रूपमा उत्पादन हुने छुर्पीलाई अन्तर्राष्ट्रिय बजारमा सुरक्षित र प्राकृतिक ‘डग च्यु’ (कुकुरले चपाउने आहार) का रूपमा प्रवर्धन गर्ने लक्ष्य लिएको छ । यस कार्ययोजनामा उत्पादन र गुणस्तर वृद्धि, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा मापदण्ड अनुसारको प्रमाणीकरण, सामूहिक ट्रेडमार्क विकास तथा निर्यात बजार विस्तारमा विशेष जोड दिइएको छ । साथै, स्थानीय, प्रदेश र सङ्घीय सरकार, निजी क्षेत्र, सहकारी तथा दुग्ध उत्पादक किसान समूहबिच समन्वयात्मक कार्यान्वयनको बलियो कानुनी व्यवस्थासमेत मिलाइएको छ ।

यसैगरी, अदुवा निर्यात राष्ट्रिय रणनीतिक कार्ययोजनाले हालसम्म प्रायः कच्चा पदार्थका रूपमा मात्र हुँदै आएको अदुवा निर्यातलाई प्रशोधित तथा मूल्य अभिवृद्धियुक्त (भ्यालु एडेड) उत्पादनमा रूपान्तरण गर्ने दूरगामी लक्ष्य राखेको छ । यसका लागि अदुवा खेतीमा देखिने रोग व्यवस्थापन, आधुनिक भण्डारण, शीतभण्डार (कोल्ड स्टोर) निर्माण, उत्पादन तथा उत्पादकत्व वृद्धि, प्रशोधन उद्योगहरूको विकास र नयाँ निर्यात बजार विस्तारलाई कार्ययोजनाको मुख्य प्राथमिकतामा राखिएको छ । अर्कोतर्फ, गलैँचा निर्यात राष्ट्रिय रणनीतिक कार्ययोजनाले नेपालको प्रमुख वैदेशिक मुद्रा आर्जन गर्ने यस्ता परम्परागत उद्योगहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा थप प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको छ । ऊनको अत्यधिक आयात निर्भरता, दक्ष जनशक्तिको अभाव तथा अन्तर्राष्ट्रिय मूल्य प्रतिस्पर्धा जस्ता चुनौती समाधान गर्न उद्योग आधुनिकीकरण, कामदारको सिप विकास, कम्प्युटर आधारित आधुनिक डिजाइन प्रणालीको प्रयोग, वैकल्पिक कच्चा पदार्थको विकास तथा डिजिटल मार्केटिङ र ई-कमर्समार्फत निर्यात बजार विस्तार गर्ने योजना कार्ययोजनामा समेटिएको छ । उल्लेखनीय कुरा के छ भने, नेपालको गलैँचा उद्योगमा ६५ प्रतिशतभन्दा बढी महिला कामदारहरू आबद्ध छन् ।

यी तीनवटै रणनीतिक कार्ययोजनाको सफल कार्यान्वयनले देशको समग्र निर्यात वृद्धि, स्थानीय स्तरमा ठुलो संख्यामा रोजगारी सिर्जना र राष्ट्रिय आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ५८ करोड ३६ लाख रुपियाँ बराबरको तीन हजार ८१७ मेट्रिक टन अदुवा निर्यात भएको छ । यस्तै सोही अवधिमा चार अर्ब ५१ करोड ४० लाख रुपियाँ बराबरको दुई हजार ६१० मेट्रिक टन छुर्पी निर्यात भएको छ भने आव २०८१/८२ मै ११ अर्ब ९२ करोड ७२ लाख रुपियाँको नेपाली गलैँचा निर्यात भएको छ । हाल नेपालबाट उत्पादित अदुवा मुख्य रूपमा छिमेकी मुलुक भारतमा निर्यात हुने गर्छ । यस्तै, नेपाली छुर्पी अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, बेलायत, अस्ट्रेलिया तथा केही युरोपेली मुलुकहरूमा लोकप्रिय बन्दै निर्यात भइरहेको छ भने गलैँचा अमेरिका, जर्मनी, बेलायत, क्यानडा, फ्रान्स, इटाली, नेदरल्यान्ड्स र जापान जस्ता विकसित देशहरूमा निर्यात हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर