नेपाल-चीन कृषि सहकार्यमा नयाँ आयाम: ‘कृषि–खाद्य प्रणाली सुदृढीकरण’ परियोजना सुरु
शिक्षाखबर डेस्क
२१ घण्टा अगाडि
no immg

काठमाडौँ / नेपालको कृषि तथा खाद्य सुरक्षा प्रणालीलाई थप प्रभावकारी, आधुनिक र सुदृढ बनाउने उद्देश्यका साथ चिनियाँ सरकारको प्रत्यक्ष आर्थिक सहयोगमा ‘नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण’ (Strengthening Agri-food System in Nepal) परियोजना औपचारिक रूपमा सुरु भएको छ। काठमाडौँमा आयोजित एक विशेष समारोहका बिच नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सो परियोजनाको आधिकारिक शुभारम्भ गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत माओमिङले कृषि क्षेत्र नेपालको सामाजिक-आर्थिक रूपान्तरण, खाद्य सुरक्षा र गरिबी निवारणको प्रमुख मेरुदण्ड रहेको उल्लेख गर्नुभयो। उहाँले यस नयाँ परियोजनामार्फत दुई देशबिचको परापूर्वकालदेखिको मैत्रिपूर्ण कृषि सहकार्यलाई अझ नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

चीन सरकारको ‘ग्लोबल डेभलपमेन्ट एन्ड साउथ–साउथ कोअपरेशन फन्ड’ (Global Development and South-South Cooperation Fund) मार्फत पूर्ण रूपमा वित्त पोषित यस परियोजनाको सफल कार्यान्वयनका लागि संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (FAO) र नेपाल सरकारबिच त्रिपक्षीय समन्वय एवं साझेदारी रहनेछ। सो अवसरमा चिनियाँ राजदूत माओमिङले विगतमा चीन सरकारको सहयोगमा सञ्चालित खोकनाको तरकारी खेती तालिम केन्द्र, झापाको आधुनिक मत्स्यपालन प्रविधि र चितवनमा हाइब्रिड धान खेती प्रवर्द्धन जस्ता सफल कार्यक्रमहरूले नेपालको कृषि उत्पादकत्व बढाउन खेलेको महत्त्वपूर्ण भूमिकाको स्मरण गराउनुभयो।

नवीनतम प्रविधि हस्तान्तरण, व्यावसायिक तालिम र ज्ञान तथा अनुभवको आदानप्रदानमार्फत साना तथा सीमान्तकृत नेपाली किसानहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्ने मुख्य लक्ष्य यस परियोजनाले लिएको छ। यो साझेदारीले संयुक्त राष्ट्रसङ्घको सन् २०३० सम्मको दिगो विकास लक्ष्य (SDG) हासिल गर्ने नेपालको राष्ट्रिय सङ्कल्पलाई सघाउ पुर्‍याउनुका साथै नेपाल र चीनबिचको द्विपक्षीय कूटनीतिक तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै