काठमाडौँ / मनसुनी वायुको प्रभाव तीव्र बनेसँगै देशका धेरै ठाउँमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक, नुवाकोट, अर्घाखाँची र कञ्चनपुरलगायतका जिल्लाहरूमा भारी वर्षा मापन गरिएको छ। आज सोमबारदेखि पर्सि बुधबारसम्म देशका विभिन्न भूभागमा मुसलधारे वर्षा हुने उच्च सम्भावना रहेकाले विपद्को जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सर्वसाधारणमा आग्रह गरेका छन्। मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार विशेष गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। सम्भावित पहिरो, बाढी तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै उहाँले लामो दूरीको यात्रा नगर्न र यात्रा गर्दा विशेष होसियारी अपनाउन सामाजिक सञ्जालमार्फत सुझाव दिनुभएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो हप्ताभरि नै देशभर मनसुनी वायुको प्रभाव मजबुत रूपमा कायम रहनेछ भने हप्ताको मध्यतिर देशका धेरैजसो ठाउँमा मुसलधारे र आरीघोप्टे (अत्यधिक तीव्र) वर्षा हुने पूर्वअनुमान गरिएको छ। हप्ताको मध्यभागमा वर्षा झनै तीव्र हुने देखिएकाले नदीनाला आसपासका तटीय क्षेत्र, पहिरोको उच्च जोखिममा रहेका पहाडी भूभाग तथा डुबानको खतरामा रहेका तराईका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन महाशाखाले अपिल गरेको छ। महाशाखाको बुलेटिनअनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका अधिकांश भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ।






