बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरका ३५ औषधी पसल सिलबन्दी: गैरकानुनी सञ्चालनविरुद्ध कडा कदम
शिक्षाखबर डेस्क
१५ घण्टा अगाडि
no immg

धरान  / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) परिसरमा गैरकानुनी र मापदण्डविपरीत सञ्चालनमा रहेका ३५ वटा औषधी पसलहरूमाथि सिलबन्दी गरिएको छ। इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय, औषधी व्यवस्था विभाग विराटनगर तथा स्थानीय वडा कार्यालयका प्रतिनिधिहरू सम्मिलित संयुक्त अनुगमन टोलीले असारको अन्तिम सातादेखि प्रतिष्ठान परिसरमा तीव्र पारिएको अनुगमनका क्रममा गम्भीर कानुनी कमजोरीहरू फेला परेपछि ती पसलहरू सिलबन्दी गरेको हो। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहका अनुसार सोमबारसम्म निरन्तर सञ्चालन गरिएको संयुक्त अनुगमनका क्रममा आवश्यक कानुनी कागजात नभएका, अन्य व्यक्तिको नाममा दर्ता गराई अर्कैले सञ्चालन गरेका, व्यवसाय नवीकरण नगरिएका र मान्यता प्राप्त दर्तावाला फार्मासिस्ट अनुपस्थित रहेका पसलहरूमाथि कडा कारबाही गरिएको हो। यसका साथै अनुगमन टोली आउने सूचना पाएपछि पसल बन्द गरेर भाग्ने, सम्पर्कविहीन हुने तथा नियमन कार्यमा असहयोग गर्ने औषधी पसलहरूलाई समेत सिलबन्दी गरी सञ्चालकहरूलाई कानुनी कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन कडा निर्देशन दिइएको छ।

प्रतिष्ठान परिसरमा बिचौलिया तथा अवैध औषधी व्यापारको बिगबिगी बढेको जनगुनासोपछि जिल्ला प्रशासन तथा सुरक्षा निकायले अनुगमनलाई सूक्ष्म र सर्वव्यापी बनाएको हो। यसअघि गत महिना मात्रै प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १२ जना व्यक्तिहरू पक्राउ परेपछि प्रशासनले औषधी पसलहरूको दर्ता, गुणस्तर र सञ्चालन प्रक्रियामाथि निगरानी बढाएको थियो। प्रहरी निरीक्षक साहले सिलबन्दी गरिएका पसल सञ्चालकहरूले पेस गर्ने कानुनी कागजातहरूको सूक्ष्म अध्ययनपछि प्रचलित कानुनबमोजिम थप कारबाही अघि बढाइने जानकारी दिनुभएको छ। प्रशासनले प्रतिष्ठान परिसरभित्र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सञ्चालित सम्पूर्ण औषधी पसलहरूलाई कानुनी प्रक्रिया र मापदण्ड पूर्ण रूपमा पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न पुनः सचेत गराउँदै आगामी दिनमा पनि यस्ता छ्यास्के अनुगमनलाई निरन्तरता दिइने स्पष्ट पारेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर