स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा पदपूर्तिको तयारी: मातहतका निकायसँग सात दिनभित्र रिक्त दरबन्दी विवरण माग
शिक्षाखबर डेस्क
१४ घण्टा अगाडि
no immg

काठमाडौँ / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लोक सेवा आयोगको स्वीकृत वार्षिक तालिकाअनुसार स्थायी पदपूर्ति प्रक्रियालाई तीव्र बनाउन आफ्ना मातहतका सम्पूर्ण विभाग, अस्पताल तथा प्रतिष्ठानहरूलाई रिक्त दरबन्दीको विवरण सात दिनभित्र उपलब्ध गराउन कडा निर्देशन दिएको छ। मन्त्रालयको कर्मचारी प्रशासन शाखाले साउन ४ गते औपचारिक परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ मा निजामती तथा स्वास्थ्य सेवातर्फका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका साथै स्वास्थ्य सेवाका अधिकृत ११औँ र नवौँ तहका रिक्त पदहरूमा स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाउन लागिएकाले अद्यावधिक विवरण माग गरेको हो। लोक सेवा आयोगमा समयमै माग आकृति फाराम (Requisition Form) पेस गर्नुपर्ने कानुनी दायित्व रहेकाले सम्बन्धित निकायहरूलाई तोकिएको ढाँचामा विवरण तयार गरी सात दिनभित्र अनिवार्य रूपमा इमेलमार्फत पठाउन भनिएको छ।

मन्त्रालयद्वारा जारी परिपत्रअनुसार सम्बन्धित निकायहरूले पठाउने विवरणमा सेवा, समूह वा उपसमूह, श्रेणी वा तह, पद, कुल स्वीकृत दरबन्दी, हाल कार्यरत कर्मचारी सङ्ख्या, र कुल रिक्त पदको स्पष्ट लेखाजोखा हुनुपर्नेछ। यसका साथै कर्मचारीको बढुवा, उमेर हदका कारण भएको अवकाश, राजीनामा, मृत्यु वा अन्य प्रशासनिक कारणले रिक्त हुन पुगेका पदहरूको यथार्थ तथ्याङ्क समावेश गर्न निर्देशन दिइएको छ। मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल नर्सिङ क्याम्पस, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधी व्यवस्था विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायतका प्रमुख निकायहरूलाई यो परिपत्र पठाएको छ। मन्त्रालयले तोकिएको समयावधिभित्रै विवरण प्राप्त भएमा मात्र लोक सेवा आयोगमार्फत स्थायी पदपूर्ति प्रक्रिया प्रभावकारी र व्यवस्थित ढङ्गले अघि बढ्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर