काठमाडौँ / देशका विभिन्न अस्पताल तथा बजारमा क्यान्सरका कडा औषधि तथा जीवनरक्षक स्लाइनजन्य पदार्थहरूको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले औषधिको मूल्य पुनःनिर्धारण तथा समायोजन प्रक्रिया अघि बढाएको छ। विभागअन्तर्गतको औषधि मूल्य अनुगमन समितिको बैठकले भारतको नेसनल फर्मास्युटिकल प्राइसिङ अथोरिटी (NPPA) ले तोकेको सिलिङ प्राइसलाई मुख्य आधार मानी नेपालमा पनि मूल्य समायोजन गर्ने विषयमा घनीभूत छलफल गरेको हो। औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको बैठकले करिब १२ वर्षअघि तोकिएको पुरानो मूल्य प्रणालीका कारण बजारमा औषधिको सहज उपलब्धतामा गम्भीर समस्या देखिएकाले पहिलो चरणमा करिब ६० प्रकारका औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव तयार पारेको छ। हाल सरकारले कुल ११७ प्रकारका औषधिको अधिकतम बिक्री मूल्य (सिलिङ प्राइस) तोकेकोमा अन्तर्राष्ट्रिय बजार र भारतको अधिकतम खुद्रा मूल्य (MRP) भन्दा पनि कम रहेको सिलिङ प्राइसलाई आधार बनाएर मूल्य परिमार्जन गर्न लागिएको हो।
लामो समयदेखि मूल्य नबढाइएका कारण क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन, सिस्प्लाटिन, अक्जिप्लाटिन तथा नर्मल सलाइन जस्ता औषधिको औपचारिक आयात ठप्पप्रायः भई कृत्रिम अभाव सिर्जना भएको छ। भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसेका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य उल्लेख्य रूपमा बढे पनि नेपालमा १२ वर्षअघिकै अत्यन्त कम मूल्य कायम रहँदा आयातकर्ताहरूले आधिकारिक रूपमा औषधि ल्याउन नसकेको बताउनुभयो। औपचारिक आपूर्ति प्रणाली अवरुद्ध हुँदा केही औषधिहरू अनधिकृत वा अनौपचारिक माध्यमबाट सरकारले तोकेको अधिकतम मूल्यभन्दा निकै महँगोमा बिक्री भइरहेको अवस्था छ। विभागका अनुसार मूल्य समायोजन गर्दा सबै औषधिको मूल्य बढ्ने मात्र नभई सन्दर्भ मूल्यका आधारमा केही औषधिको मूल्य घट्नसमेत सक्छ।
औषधि मूल्य अनुगमन समितिले तयार पारेको यो समायोजन प्रस्ताव स्वास्थ्य मन्त्रीको अध्यक्षतामा बस्ने औषधि परामर्श परिषद्को बैठकबाट पारित भई मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि मात्र नेपाल राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आउनेछ। बैठकमा नेपाल औषधि उत्पादक सङ्घ, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल फर्मास्युटिकल्स एसोसिएसन र नेपाल औषधि आयातकर्ता सङ्घका प्रतिनिधिहरूका साथै क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईं लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो।





