काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली (बादल लाग्ने) भएको छ। आज हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना औँल्याइएको छ। यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानका साथै मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार राति पनि देशभर साधारणतया बदली रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायम रहने भएकाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने बासिन्दाहरूलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ।






