चीनबाट आयातित धनियाँमा खतरनाक किरा भेटिएपछि आयातमा रोक: खाद्य सुरक्षा र जैविक कृषि जोगाउन सरकारको कडा कदम
शिक्षाखबर डेस्क
२ दिन अगाडि
no immg

काठमाडौँ / चीनबाट नेपाल भित्र्याइएको धनियाँको दानामा कृषि तथा खाद्य सुरक्षाका दृष्टिले अत्यन्त घातक मानिने हानिकारक रोग र किराको जोखिम फेला परेकाले सरकारले तत्कालका लागि धनियाँ आयातमा पूर्ण रोक लगाएको छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार तातोपानी नाकाबाट नेपाल ल्याइएको ३० टन धनियाँ प्रयोगशालामा परीक्षण गर्दा अन्तर्राष्ट्रियस्तरमै प्रतिबन्धित ‘खपराज बाटल’ (Khapra Beetle) नामक क्वारेन्टाइन पेस्ट भेटिएपछि नाकामै रोकिएको हो। नेपालका कृषि बालीनाली, जैविक सुरक्षा र वातावरणीय स्वास्थ्यमा पर्न सक्ने गम्भीर खतरालाई ध्यानमा राख्दै सीमानाकामा सञ्चालित नियमित जाँचका क्रममा यो कडा कदम चालिएको हो। केन्द्रका प्रमुख भोजराज सापकोटाका अनुसार गत जेठ १३ गते तातोपानी नाकामा रोकिएको सो धनियाँलाई हाल क्वारेन्टाइन प्रक्रियामै राखिएको छ र नेपाललाई कुनै पनि हालतमा अस्वस्थ वस्तुको ‘डम्पिङ साइट’ बन्न नदिने गरी सूक्ष्म अध्ययन भइरहेको छ। धनियाँमा भेटिएको घातक किराका सम्बन्धमा केन्द्रले चीनको आधिकारिक निकायका साथै विश्व व्यापार सङ्गठन (WTO) र इन्टरनेसनल प्लान्ट प्रोटेक्सन कन्भेन्सन (IPPC) जस्ता अन्तर्राष्ट्रिय नियामक निकायहरूलाई औपचारिक पत्रमार्फत जानकारी गराइसकेको छ

नेपाल सरकारले स्वदेशी कृषि बालीलाई विनाशकारी रोगकिराबाट जोगाउन यसअघि पनि अन्य विभिन्न फलफूल तथा कृषिजन्य वस्तुको आयातमा कडा नियमन र रोक लगाउँदै आएको छ। यसअघि युगान्डाबाट आयात गरिएको एभोकाडोमा ‘फाइटोप्थोरा पाल्मिभोरा’ नामक खतरनाक किरा फेला परेकाले त्यसको आयातमा समेत रोक लगाइएको थियो भने युगान्डा सरकारसँग यसबारे औपचारिक जवाफ माग गरिएको छ। त्यसैगरी गत असोज २ गतेदेखि नेपालको अर्बौँ रुपियाँ बराबरको केरा खेतीलाई विनाशकारी ‘पनामा रोग’ (TR-4) बाट जोगाउन भारतबाट केरा आयातको अनुमतिपत्र (Permit) दिन बन्द गरिएको थियो, जसलाई अहिले प्लान्ट क्वारेन्टाइन केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ‘जैविक सुरक्षा प्रणाली’ मार्फत स्थानीय सरकारसँगको सहकार्यमा झन् कडा बनाइरहेका छन्। यसका साथै भारतबाट आयात हुने आँपको हकमा पनि ‘हट वाटर ट्रिटमेन्ट’ (Hot Water Treatment) को अनिवार्य मापदण्ड पूरा गरेपछि मात्रै प्रवेश अनुमति दिने गरिएको छ

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै