भरतपुर अस्पतालमा बिरामीको अत्यधिक चाप: एकै दिन ३ हजार ३ सय बढीले लिए सेवा, ७० प्रतिशत बिमाका बिरामी
शिक्षाखबर डेस्क
७ घण्टा अगाडि
no immg

चितवन / मध्यनेपालको प्रमुख सरकारी उपचार केन्द्र भरतपुर अस्पतालमा बिरामीको चाप अत्यधिक बढेपछि अस्पतालको दैनिक सेवा व्यवस्थापन जटिल बन्दै गएको छ। सोमबार एकै दिन अस्पतालबाट ३ हजार ३६८ जना बिरामीले प्रत्यक्ष उपचार सेवा लिएका छन्, जसमध्ये ६८७ जना नयाँ बिरामी रहेका छन् भने आकस्मिक सेवा लिनेको सङ्ख्या २६६ पुगेको छ। अस्पतालका बिमा कार्यक्रम संयोजक लीलाधर पौडेलका अनुसार कुल बिरामीमध्ये दुई हजार ५८९ जना अर्थात् करिब ७० प्रतिशत बिरामी स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार गराउन आएका हुन्। जिल्लाका दुई ठुला मेडिकल कलेजहरूमा बिमा कार्यक्रम स्थगित भएपछि चितवनसहित आसपासका २२ वटा जिल्लाबाट बिरामीहरूको ओइरो लाग्दा अस्पताल परिसरमा भीड नियन्त्रण गर्न कठिन भइरहेको छ

अस्पतालमा सोमबार मात्रै ५०७ जनाको भिडियो एक्सरे, ४५ जनाको सिटीस्क्यान र ३१ जनाको एमआरआई परीक्षण गरिएको छ। उमेर समूहका हिसाबले उपचारका लागि आएकामध्ये ८० वर्ष नाघेका १०९ जना र ६० देखि ७९ वर्ष उमेर समूहका ७१३ जना ज्येष्ठ नागरिक रहेका छन्। देशकै नमुना मानिने यस अस्पतालले २०७४ भदौदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेयता हालसम्म रु २ अर्ब ४७ करोड ४८ लाखभन्दा बढी भुक्तानी प्राप्त गरिसकेको छ, जसमध्ये गत आर्थिक वर्षमा मात्रै रु ९२ करोड ३६ लाखभन्दा बढी शोधभर्ना पाएको छ भने अझै झन्डै रु ४० करोड भुक्तानी आउन बाँकी छ

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले बिरामीको अत्यधिक चापका कारण अहिले अस्पतालको सम्पूर्ण ध्यान उपचारको गुणस्तर सुधारभन्दा पनि भीड व्यवस्थापनमा केन्द्रित गर्नुपरेको बाध्यता व्यक्त गर्नुभयो। यो समस्या समाधानका लागि भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र रत्ननगर बकुलहर अस्पतालसँग सहकार्य गरी विस्तारित सेवा (Extended Services) सञ्चालन गर्ने छलफल अघि बढाइएको छ। नियमित खाने औषधि र सामान्य प्रयोगशाला परीक्षण जस्ता आधारभूत सेवा स्थानीय पालिकास्तरमै उपलब्ध गराउन सके केन्द्रीय अस्पतालमा भीड घट्ने र भरतपुर अस्पतालले विशिष्टीकृत (Specialized) सेवामा मात्र ध्यान केन्द्रित गर्न सक्ने डा. बगालेको भनाइ छ

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै