रानी (मोरङ) । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामाथि अमर्यादित व्यवहार गरेको गम्भीर आरोपमा अनुसन्धानका लागि प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका–७ का ३१ वर्षीय भीमप्रसाद नेपाललाई नियन्त्रणमा लिएसँगै यस घटनामा पक्राउ पर्नेको सङ्ख्या चार पुगेको छ। नेपाल उक्त विद्यालयमा नृत्य प्रशिक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। यसअघि नै पक्राउ परिसकेका विद्यालयका बस चालक प्रदीप भट्टराई, विज्ञान विषयका शिक्षक किशोरलाल गच्छदार र लेखापाल अबिरल मास्केसमेत चारै जनामाथि बालबालिकाविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी गहन अनुसन्धान अघि बढाइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका गम्भीर गुनासाहरू तथा प्राप्त औपचारिक उजुरीका आधारमा प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा प्राप्त प्रमाण र बयानका आधारमा थप व्यक्तिको संलग्नता पुष्टि भएपछि नृत्य प्रशिक्षक नेपाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। आरोपी चारै जनालाई जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
छात्रामाथि भएको दुर्व्यवहारको घटना सार्वजनिक भएपछि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घको संयुक्त बैठकले आरोप लागेका शिक्षक तथा कर्मचारीहरूलाई अनुसन्धान अवधिभरका लागि निलम्बन गर्ने निर्णय गरिसकेको छ। यसैगरी सुन्दरहरैँचा नगरपालिकाले पनि घटनालाई गम्भीरताका साथ लिँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको छ।






