देशभर मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी, कोशी र लुम्बिनीका पहाडी तथा तराई भू-भागमा भारी वर्षाको जोखिम
शिक्षाखबर डेस्क
२ घण्टा अगाडि
no immg

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित रहेकाले देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली (बादल लाग्ने) भएको छ। हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ। महाशाखाका अनुसार बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसैगरी पहाडी भू-भागका धेरै स्थानमा र तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनेछ। विशेष गरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति पनि देशभर साधारणतया बदली कायम रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायम रहने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक पूर्वसतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। सम्भावित जोखिमका कारण सर्वसाधारणको दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, एवं सडक तथा हवाई यातायातमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका नागरिक तथा सरोकारवालाहरूलाई विभागको पछिल्लो मौसम सूचनामा अद्यावधिक रहन महाशाखाले विशेष अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै