मिथेन ग्यास उत्सर्जन नियन्त्रणमा एआईको प्रयोग: संयुक्त राष्ट्रसङ्घको विशेष पहल
शिक्षाखबर डेस्क
२ घण्टा अगाडि
no immg

काठमाडौँ / विश्वव्यापी तापमान वृद्धिलाई नियन्त्रण गर्न संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (UNEP) अन्तर्गतको इन्टरनेसनल मिथेन एमिसन्स अक्टोर्भेटरी (IMEO) ले आर्टिफिसियल इन्टेलिजेन्स (AI) र भूउपग्रह (Satellite) प्रविधिको प्रयोग गरी मिथेन ग्यास उत्सर्जन नियन्त्रणमा नयाँ सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार वायुमण्डलमा कार्बनड डाइअक्साइडको तुलनामा मिथेन ग्यासले सुरुवाती २० वर्षमा ८६ गुणा बढी तापक्रम सोस्ने भएकाले हालको कुल भू-मण्डलीय तापमान वृद्धिमा करिब एक-तिहाइ हिस्सा मिथेनकै रहेको छ। यो चुनौतीको सामना गर्न आईएमईओले आफ्नो ‘मिथेन अलर्ट एन्ड रेस्पोन्स सिस्टम’ (MARS) मा एआई एकीकृत गरी ३० भन्दा बढी स्याटेलाइटबाट प्राप्त १३ लाखभन्दा बढी मापनहरू द्रुत गतिमा विश्लेषण गरिरहेको छ। मानिस र एआईको यो सहकार्य (Human-AI Collaboration) ले गर्दा वैज्ञानिक शुद्धता कायम राख्दै पहिलेको तुलनामा १२ देखि १५ गुणा बढी डाटा प्रशोधन गर्न सम्भव भएको छ।

लन्डन क्लाइमेट एक्शन विकका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मिथेन उत्सर्जन कटौती गर्नु जलवायु सङ्कटसँग जुध्ने सबैभन्दा तीव्र र किफायती उपाय भएको बताउनुभएको छ। जलवायु सङ्कट चुलिँदै जाँदा निकट वर्षहरूमा १.५ डिग्री सेल्सियसको सीमा नाघ्ने खतरा बढेकाले जिवाश्म इन्धनको प्रयोग घटाउँदै मिथेन उत्सर्जनमा तत्काल भारी कटौती गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। अर्कोतर्फ, एआई प्रणाली आफैँमा बढी बिजुली र जलस्रोत खपत गर्ने प्रविधि भएकाले आईएमईओले हरित र दिगो एआई मोडलहरू विकास गरेको छ। यी मोडलहरू अत्यन्त हलुका (Lightweight) रहेकाले सामान्य प्रोसेसर र एउटै जिपियु (GPU) मा चल्न सक्छन्, जसले गर्दा कम ऊर्जा खपत गरी विश्वभर मिथेनको सटीक अनुगमन गर्न सकिन्छ।

भावी योजनाअनुसार आईएमईओले एआईको दायरा थप विस्तार गर्दै उत्सर्जन रोकिएको पुष्टि गर्ने, वातावरणीय डाटाहरूलाई पारदर्शी र पहुँचयोग्य बनाउने तथा खुला डाटायुक्त साझेदारीमार्फत प्राविधिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। औद्योगिक क्रान्तिपूर्वको तुलनामा हाल वायुमण्डलमा मिथेनको मात्रा साढे दुई गुणाभन्दा बढी भइसकेको सन्दर्भमा, बहुपक्षीय विकास बैंकहरू तथा दाता निकायहरूले वित्तीय स्रोत जुटाई उत्तरदायी एआई प्रविधिको प्रयोगमार्फत मिथेन कटौतीको लक्ष्य पूरा गर्न ऐक्यबद्धता जनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै