एनभिजनद्वारा ‘मिसन गोबी’ को घोषणा: मरुभूमि क्षेत्रमा ५ गिगावाट क्षमताको ‘हरित एआई डाटा सेन्टर’ बनाइने
शिक्षाखबर डेस्क
२ घण्टा अगाडि
no immg

काठमाडौँ / हरित प्रविधि तथा नवीकरणीय ऊर्जा समाधान प्रदायक कम्पनी ‘एनभिजन’ (Envision) ले पेरिसमा आयोजित ‘भिवाटेक २०२६’ (VivaTech 2026) सम्मेलनमा आफ्नो नयाँ महत्त्वाकाङ्क्षी पहल ‘मिसन गोबी’ (Mission Gobi) सार्वजनिक गरेको छ। यस दूरगामी योजनाअन्तर्गत कम्पनीले सन् २०३० सम्ममा मरुभूमि तथा सुक्खा भू-भागहरूमा ५ गिगावाट (5GW) क्षमताको हरित एआई डाटा सेन्टर (AIDC) विकास गर्ने लक्ष्य राखेको छ। उत्तरी चीन र दक्षिणी मङ्गोलियाभर फैलिएको विशाल गोबी मरुभूमिलाई केन्द्रविन्दु बनाएर सञ्चालन गरिने यो परियोजनाले आर्टिफिसियल इन्टेलिजेन्सको द्रुत विकास र सोही अनुपातमा बढ्दो ऊर्जा मागबिचको सन्तुलन कायम गर्न सफा, टिकाउ र थप विस्तारयोग्य (Scalable) नयाँ मोडेल प्रस्तुत गर्नेछ।

कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (CEO) लेई झाङले एआई क्रान्तिले परम्परागत ऊर्जा प्रणालीमा नयाँ संरचनात्मक अवरोधहरू सिर्जना गरेको बताउनुभयो। परम्परागत विद्युत् प्रणालीहरू एआई युगको तीव्रता र व्यापकता धान्ने गरी निर्माण नभएकाले ‘मिसन गोबी’ ले प्रणालीगत एकीकृत पहुँच (System-level approach) प्रदान गर्ने उहाँको भनाइ छ। यस योजनाले नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण (Storage), ग्रिड पूर्वाधार र कम्प्युटिङलाई एकसाथ जोडेर सुलभ दरमा स्वच्छ विद्युत् उपलब्ध गराउनेछ। झाङका अनुसार विश्वका मरुभूमि तथा गोबी क्षेत्रको मात्र १ प्रतिशत भू-भाग प्रयोग गर्न सकिएमा पनि यसले अत्यन्त प्रतिस्पर्धी मूल्यमा टेरावाट-स्तरीय कम्प्युटिङ क्षमतालाई धानेर विश्वभर एआई पूर्वाधार विस्तारमा क्रान्ति ल्याउन सक्नेछ।

एनभिजनले यसअघि नै चीनलगायतका स्थानहरूमा प्रत्यक्ष हरित ऊर्जामार्फत चल्ने विश्वकै पहिलो एआई डाटा सेन्टरहरू सफलतापूर्वक सञ्चालन गरी यसको व्यावहारिक र व्यावसायिक सम्भाव्यता पुष्टि गरिसकेको छ। कार्बन उत्सर्जन गर्ने परम्परागत ग्रिडमा निर्भर नरही उच्च घनत्वको एआई कम्प्युटिङ सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण कम्पनीले प्रस्तुत गरेको छ। अन्तर्राष्ट्रिय साझेदारहरू, सरकार, प्रविधि कम्पनीहरू र पूर्वाधार लगानीकर्ताहरूसँग सहकार्य गर्दै स्मार्ट विन्ड टर्बाइन, ऊर्जा भण्डारण, र हरित हाइड्रोजन प्रविधिको उपयोग गरी स्वच्छ र किफायती हरित कम्प्युटिङ पूर्वाधार निर्माणमा कम्पनी अघि बढिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै