काठमाडौँ / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको समग्र सुधार, सेवा विस्तार, र नीतिगत व्यवस्थापनका विषयमा मन्त्रालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ। छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, राष्ट्रिय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने, र नेपाललाई अन्तर्राष्ट्रिय आयुर्वेदिक पर्यटनको मुख्य गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको छ। मन्त्री मेहताले नेपाल आयुर्वेदको ऐतिहासिक उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन, र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नु सरकारको प्राथमिकतामा रहेको बताउँदै आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
छलफलका क्रममा पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, र बुढानिलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने रणनीतिमा मन्त्रालयले काम अघि बढाउने निर्णय भएको छ। यी संस्थाहरूको पूर्वाधार, सेवा, विशेषज्ञ जनशक्ति, र अन्तर्राष्ट्रिय स्तरको वेलनेस (Wellness) सेवाको क्षमता अभिवृद्धि गर्दै नेपाललाई आकर्षित गन्तव्यका रूपमा स्थापित गरिनेछ। यसका साथै आयुर्वेद सेवालाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M Survey) सम्पन्न गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि उत्पादनसम्मको मूल्य शृङ्खला विकास गर्ने, र विश्व स्वास्थ्य सङ्गठन (WHO) को मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्ने विषयमा सहभागीहरूले महत्त्वपूर्ण सुझाव दिएका थिए।
उक्त छलफलमा मन्त्रालयका उच्च अधिकारीहरू, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद चिकित्सालय, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, र राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। मन्त्रालयले प्राप्त सुझावहरूलाई कार्यान्वयनयोग्य योजना र नीतिगत निर्णयमार्फत क्रमशः अघि बढाउने जनाएको छ।






