काठमाडौँ / भारतको बेङ्गलोरस्थित प्रविधि स्टार्टअप ‘विम्याग ल्याब्स’ (Vimag Labs) ले दुर्लभ खनिज (Rare-Earth Magnets) को प्रयोगविना नै सञ्चालन हुने विद्युतीय सवारी (EV) मोटरका लागि आफ्नो पाँचौँ भारतीय पेटेन्ट प्राप्त गरेको छ। ५ मिलियन अमेरिकी डलर बराबरको यो सानो कम्पनीले वर्षौँदेखि टेस्ला (Tesla), जनरल मोटर्स (GM) र विश्वका अन्य प्रमुख अटो निर्माताहरूलाई अल्झाइरहेको मुख्य समस्याको समाधान खोजेको छ। विम्यागले चीनमाथिको निर्भरता पूर्ण रूपमा हटाउँदै सफ्टवेयर र पावर इलेक्ट्रोनिक्सको प्रयोग गरी आफ्नै चुम्बकीय क्षेत्र (Magnetic Field) उत्पन्न गर्ने विद्युतीय मोटर प्रविधि सफलतापूर्वक विकास गरेको हो।
हाल सडकमा गुड्ने अधिकांश विद्युतीय सवारी साधनहरूले ‘पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनस मोटर’ (PMSM) को प्रयोग गर्दछन्, जुन मोटरको रोटरमा जडान गरिएका दुर्लभ चुम्बकमा निर्भर हुन्छन्। तर विम्यागको ‘भर्चुअल म्याग्नेट सिङ्क्रोनस मोटर’ (VMSM) ले ती चुम्बकहरूको आवश्यकतालाई पूर्ण रूपमा समाप्त गरिदिएको छ। यस प्रविधिले पावर इलेक्ट्रोनिक्स र आफ्नै नियन्त्रण अल्गोरिदम (Proprietary Control Algorithms) को प्रयोग गरी वास्तविक समयमै रोटरको चुम्बकीय क्षेत्र सिर्जना र नियन्त्रण गर्दछ। “ए रोबस्ट रोटेटिङ ट्रान्सफर्मर एक्साइटेड सिङ्क्रोनस मोटर एन्ड इट्स कन्ट्रोल” शीर्षकको यो पेटेन्टले मोटरको मुख्य संरचनालाई ओगट्दछ। सन् २०२५ को सेप्टेम्बरमा कम्पनी स्थापना गर्नुभएका विम्याग ल्याब्सका सह-संस्थापक एवं सीईओ मनिष सेठका अनुसार ८७,६०० भन्दा बढी इन्जिनियरिङ घण्टाको मेहनतपछि यो पेटेन्ट हासिल भएको हो। कम्पनीले हाल दुई पाङ्ग्रे र यात्रुवाहक सवारी निर्माताहरूसँग परीक्षण सञ्चालन गरिरहेको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) का अनुसार सन् २०२४ मा विश्वभर उत्पादन हुने कुल दुर्लभ खनिज प्रशोधनको ९१ प्रतिशत र ईभी मोटरमा प्रयोग हुने चुम्बक उत्पादनको ९४ प्रतिशत हिस्सा चीनकै नियन्त्रणमा रहेको थियो। चीनले सन् २०२५ को अप्रिलमा सातवटा दुर्लभ खनिज तत्व र सम्बन्धित चुम्बकहरूको निर्यातमा प्रतिबन्ध लगाएपछि अमेरिकी र युरोपेली अटो निर्माताहरू उत्पादन कटौती गर्न बाध्य भएका थिए। चीनमाथिको यो चरम निर्भरता घटाउन टेस्लाले पनि दुर्लभ खनिजविनाको आगामी पुस्ताको मोटर बनाउने घोषणा गरेको थियो भने जनरल मोटर्स र स्टेलान्टिसले ‘निरोन म्याग्नेटिक्स’ मा लगानी गरेका छन्। यस्तो तीव्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका बिच विम्याग ल्याब्सले पाएको सफलतालाई विद्युतीय सवारी प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ।






