काठमाडौँ / कृषि, वन तथा पर्यावरण मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत गरेको छ। सोही अवधिमा मन्त्रालयले ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन र छ वटा पूरक इआइए प्रतिवेदनसमेत स्वीकृत गरेको छ। यसका साथै नौ वटा परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत गरिनुका साथै सात वटा आयोजनालाई वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएको छ। १५ वटा आयोजनाले पूरक अध्ययनको सहमति प्राप्त गरेका छन् भने वातावरणीय मापदण्ड पालना नगर्ने छ वटा आयोजनालाई जरिवाना गरिएको र पाँच आयोजनाको म्याद थप गरिएको मन्त्रालयले जनाएको छ।
इआइए स्वीकृत भएका आयोजनाहरूमा अधिकांश जलविद्युत् आयोजनाहरू रहेका छन्। मन्त्रालयका अनुसार ९० मेगावाट क्षमताको मर्स्याङ्दी अर्धजलाशययुक्त, २७० मेगावाटको भेरी–१ अर्धजलाशययुक्त, ३४१ मेगावाटको बूढीगण्डकी, ९१.१५ मेगावाटको बूढीगण्डकी नदी, र ३५ मेगावाटको माथिल्लो अप्सुखोला जलविद्युत् आयोजनाको इआइए स्वीकृत भएको छ। त्यसैगरी ८८ मेगावाटको रोल्वालिङ, ३० मेगावाटको माथिल्लो दूधखोला, र ३४.३९ मेगावाट क्षमताको सुपर बूढीगण्डकी जलविद्युत् आयोजनाले पनि इआइए स्वीकृति पाएका छन्। पूरक इआइए स्वीकृत भएका प्रमुख आयोजनाहरूमा सङ्खुवा खोला, सिम्बुवा खोला र मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना रहेका छन्।
परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका आयोजनाहरूमा सुपर तमोर, माथिल्लो बलेफी, तिनाउ खोला, बलेफी खोला, कालीगण्डकी गर्ज, र २०१ मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजना रहेका छन्। यसैबिच, अमेरिकी सहयोग परियोजना (एमसिए–नेपाल) मार्फत निर्माण भइरहेका लप्सीफेदी–रातामाटे, रातामाटे–न्यू हेटौँडा, रातामाटे–न्यू दमौली, न्यू दमौली–न्यू बुटवल र न्यू बुटवल–नेपाल–भारत सीमा ४०० केभी डबल सर्किट प्रसारण लाइन तथा रातामाटे, न्यू दमौली र न्यू बुटवल ४०० केभी सबस्टेशनको परिमार्जित वातावरणीय व्यवस्थापन योजनासमेत मन्त्रालयबाट स्वीकृत भएको छ।






