चितवनका ६ विद्यार्थी सङ्गठनद्वारा प्रमुख जिल्ला अधिकारी र भरतपुर महानगरलाई ज्ञापनपत्र बुझाइयो
शिक्षाखबर डेस्क
५६ मिनेट अगाडि
no immg

चितवन / नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, र लोकतान्त्रिक विद्यार्थी सङ्घसहित संयुक्त विद्यार्थी सङ्गठन चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी तथा भरतपुर महानगरपालिकाका कार्यवाहक मेयरलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन्। जिल्लाको जनसुरक्षा, सडक व्यवस्थापन, शैक्षिक गुणस्तर, तथा विद्यार्थी हितका विभिन्न ज्वलन्त विषयहरूमा तत्काल आवश्यक पहल गरी प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै संयुक्त सङ्गठनले साउन ७ गते दुवै निकायमा ज्ञापनपत्र दर्ता गराएका हुन्।

भरतपुर महानगरपालिकाका कार्यवाहक मेयरलाई सम्बोधन गरी बुझाइएको ज्ञापनपत्रमा निजी शैक्षिक संस्थाहरूले विभिन्न शीर्षक र बहानामा अभिभावकबाट असुल गरेको अतिरिक्त तथा गैरकानुनी शुल्क छानबिन गरी फिर्ता गराउन माग गरिएको छ। यसका साथै महानगरभित्रका निजी शैक्षिक संस्थाका नक्सा पास नभएका भवनहरूको अनुगमन गरी कारबाही गर्न, कानुनबमोजिम छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली अनिवार्य रूपमा सूचना पाटी र वेबसाइटमा सार्वजनिक गर्न, तथा सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने र ओभरस्पिडमा चल्ने विद्यालय बसहरूको नियमित अनुगमन र प्राविधिक परीक्षण गर्न आग्रह गरिएको छ।

यस्तै, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा सार्वजनिक यातायात तथा मनोरञ्जन क्षेत्रहरूमा विद्यार्थीहरूलाई प्रदान गरिने ४५ प्रतिशत सहुलियत अनिवार्य रूपमा कार्यान्वयन गराउन र आगामी साउन महिनाभर देवघाटधाममा आउने आन्तरिक तथा बाह्य धार्मिक भक्तजनहरूको सुरक्षाका लागि ट्राफिक व्यवस्थापन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र स्वास्थ्य सहायता टोली परिचालन गर्न जोड दिइएको छ।

दुवै निकायलाई साझा रूपमा प्रस्तुत गरिएका मागहरूमा नारायणी पुलबाट मानिसहरूले हामफाल्ने घटनाहरू बढ्दै गएकाले पुल क्षेत्रमा उच्चस्तरीय सिसिटिभी क्यामेरा, सुरक्षा जाली (सेफ्टी नेट), र चौबीसै घण्टा सुरक्षा निगरानी प्रणाली स्थापना गर्न आग्रह गरिएको छ। यसका साथै एसियन हाइवेअन्तर्गत सिक्स लेन सडकका अनावश्यक कटहरू बन्द गर्न, अन्डरपास र ओभरपासको पर्याप्त व्यवस्था नभएसम्म गति सीमा निर्धारण गर्न, दृश्यता अवरुद्ध गर्ने सडक किनारका बोटबिरुवा कटान गर्न, र ठेक्का सम्झौताको समयसीमा सकिएका ट्राफिक बत्तीहरू यथाशीघ्र जडान सम्पन्न गर्न माग गरिएको छ। ज्ञापनपत्रमा नेविसंघका जिल्ला अध्यक्ष प्रकाश भण्डारी, अनेरास्ववियुका संयोजक अमित आचार्य, अखिल (क्रान्तिकारी) का अध्यक्ष सुशिल कार्की ‘अब्दुल’, अखिल (समाजवादी) का संयोजक महेश सी., वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष अर्जुन फुयाँल, र लोकतान्त्रिक विद्यार्थी सङ्घका संयोजक कलाम परवेज मन्सुरले संयुक्त हस्ताक्षर गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर