मेडिकल क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औँ सत्याग्रह सुरु: चिकित्सा आयोग र गेटा विश्वविद्यालयका नियुक्ति बदर गर्न माग
शिक्षाखबर डेस्क
१ घण्टा अगाडि
no immg

धनगढी / चिकित्सा शिक्षा र जनस्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर सङ्घर्षरत वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले कैलालीको धनगढीस्थित एलएनचोकमा रहेको कृष्ण मन्दिरको धर्मशालाबाट आफ्नो २४ औँ अनशन (सत्याग्रह) सुरु गर्नुभएको छ। दार्चुलाबाट बुधबार साँझ धनगढी पुग्नुभएका डा. केसीले सरकारले दिएको समयसीमाभित्र आफ्ना मागहरूप्रति कुनै चासो नदेखाएपछि साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्नुभएको हो। सरकार निजी मेडिकल माफियाहरूलाई पोस्न र जेहेन्दार विद्यार्थीको छात्रवृत्ति खोस्न उद्देलित भएको आरोप लगाउँदै उहाँले स्थापित नियम र मूल्य-मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी एवं स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गर्न माग गर्नुभएको छ।

डा. केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र न्यूनतम मापदण्ड तथा पूर्वाधारविनाका निजी कलेजहरूमा शुल्कयुक्त सिट सङ्ख्या वृद्धि गर्ने प्रस्ताव तथा निर्णयहरू तत्काल खारेज गर्नुपर्ने अडान राख्नुभएको छ। राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने मार्गचित्र तय गरे पनि वर्तमान सरकार र सम्बद्ध निकायहरूले यसको कार्यान्वयनमा कुनै तत्परता नदेखाएको उहाँको भनाइ छ। सुदूरपश्चिमको स्वास्थ्य सेवा र उच्च शिक्षाको मेरुदण्डका रूपमा रहेको गेटा मेडिकल कलेजलाई राजनीतिक तथा व्यापारिक स्वार्थका कारण सञ्चालनमा ल्याउन ढिलाइ गरिएको र अमूक निजी संस्थाका व्यक्तिहरूलाई लक्षित गरी उपकुलपति तथा रजिस्ट्रार नियुक्त गर्ने गरी ऐन थोपरिएको आरोपसमेत उहाँले लगाउनुभएको छ।

यसका साथै, डा. केसीले विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्न, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य र शिक्षाका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्न, तथा २०८२ भदौमा भएका हिंसात्मक घटना र २०४६ सालदेखि हालसम्मका उच्चपदस्थ राजनीतिज्ञ एवं पदाधिकारीहरूबाट भएका भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ। सरकारको संवेदनहीनताका कारण सुरु भएको यस सत्याग्रहबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुने चेतावनी डा. केसीले दिनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै